Close This

जनताको घर भत्काउने नगर प्रमुख उप प्रमुखलाई कार्बाही, ७ लाख क्षतिपूर्ति तिराउन अदालतको आदेश

पत्र पत्रिका    प्रकाशित: २०७९-४-२० गते   १९० पटक हेरिएको


धनुषाको जनकपुरधाम उपमहा नगरपालिकाका निवर्तमान नगर प्रमुख लालकिशोर साह र उप प्रमुख रिताकुमारी मिश्रलाई स्थानियको घर भत्काएको कसुरमा रु ७ लाख क्षतिपूर्ति भर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ ।
उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश विनोद शर्मा र न्यायाधीश विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले उनीहरुमाथि अदालतको अवहेलना गरेको र एक व्यक्तिको घर जानीजानी भत्काउन आदेश दिएको कसुरमा जनही रु ३ लाख पचास हजारका दरले दुवै जनाबाट रु ७ लाख क्षतिपूर्ति भर्न आदेश जारी गरेको हो ।
जनकपुरधाम उपमहनगरपालिका १ बस्ने चन्देश्वर साहको तत्कालीन धनुषा बेंगाशिवपुर गाविस वडा नम्बर ७ (हाल जनकपुरधाम उपमहानगरपालिका) ख को कित्ता नम्बर ७७५ को २ कठ्ठा १७ धुरमा रहेको एकतल्ले पक्की घरमा रहेको गिर्जा सेल मिल सहितको घर भत्काउन थालेपछि २०७६ भदौ २४ मा निषेधाज्ञा मुद्दा दायर भएको थियो ।
अदालतको आदेशलाई समेत अवहेलना गर्दै सो घर भत्काइएपछि चन्देश्वरले रु १५ लाख ८९ हजार ९ सय ४ रुपैयाँ ८४ पैसा मूल्य बराबरको घर पूर्णरुपमा क्षति भएको दाबी गर्दै विपक्षी जनकपुरधाम उपमहानगरका तत्कालीन नगर प्रमुख साह र उपप्रमुख मिश्रसहित ४ जनाविरुद्ध क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेका थिए ।
अदालतको आदेशमा विपक्षी मध्येका जनकपुरधाम उपमहानगरपालिकाका तत्कालीन नगर प्रमुख साह र उप प्रमुख मिश्रबाट निवेदकको घर समेत भत्काई क्षति पु¥याए वापत मनासिव क्षतिपूर्ति रु ७ लाखमध्ये रु ३ लाख पचास हजारका दरले दुवै जनाले क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख छ ।
अदालतमा तत्कालीन प्रमुख साह र उपप्रमुख मिश्रले आफ्नो लिखित बयानमा आफूहरुले घर नभत्काएको भनेर इन्कारी बयान दिए पनि विपक्षी स्काभेटर सञ्चालक समेत रहेका वीरेन्द्र पासवानले साह र मिश्रकै आदेशमा घर भत्काएको भनि लिखित जवाफ दिएपछि सोलाई आधार मानेको अदालतले आफ्नो फैसलामा भनेको छ ।
अन्य विपक्षी जनकपुरधाम उपमहानगरपालिका १८ का वडाध्यक्ष रामअशिष पजियार र अर्का वीरेन्द्र पासवानको हकमा प्रमाण नपुगेको भन्दै अदालतले सफाई दिएको छ । सडक विस्तार गर्ने क्रममा २०७६ मा जनकपुरधाम उपमहानगरले सडक छेउका अधिकांश घर भत्काएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech