सर्लाहीको लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९’का लागि १० वटा कृतिहरूको नाम छनोट भएको छ । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९’का लागि १० वटा कृतिहरूको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको हो ।
भाषा,कला,साहित्य,सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्मय परिषद्ले एक विज्ञप्तिमार्फत १० कृतिहरू र तिनका सर्जकहरूको नाम पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो । स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा डा. नवराज लम्सालको अग्नि, प्रतीक ढकालको उज्यालो कर्णाली, सुरेन्द्र अस्तफलको तेल भिसा, सुशीला पौडेलको तृषा, मोहन मैनालीको देखेको देश,डा. नेत्र एटमको प्रिय मौनता,टीका आत्रेयको भ्रुण प्रश्न, महेश थापाको मरीचिका,दिपा मेवाहाङ राईकोे यादको सन्दुक र बिना थिङको याम्वुनेर कृति छनौटमा परेका लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वाङ्मय परिषद्लाई प्राप्त १ सय २८ कृतिहरूमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिहरूमध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने छ ।
सम्मान तथा पुरस्कार छनोट समितिले उक्त १० कृतिहरूमध्येबाट पुनःएक उत्कृष्ट कृति सिफारिस गरेपछि उक्त कृतिलाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार(२०७९ प्रदान गरिने उक्त अध्यक्ष अधिकारीद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त पुरस्कारको राशि रु. ५० हजार रहेको लालबन्दी नगर वाङ्मय परिषद्ले जनाएको छ ।