नगर प्रमुख हारेपछि कार्यपालिका सदस्यमा सिंह निर्वाचित सिंह

2.4k Shares

सर्लाहीको बलरा नगरपालिकाको नगर प्रमुख पदमा पराजित भएका नेपाली कांग्रेसका नेता कार्यपालिका सदस्यमा विजयी भएका छन् । नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुख पदमा उठेका कौशल किशोर सिंह(राजपुत) कार्यपालिका सदस्यमा विजयी भएका हुन ।
बुधबार सम्पन्न कार्यपालिका निर्वाचनमा ३९ मत ल्याई सिंह विजयी भएका निर्वाचन अधिकृतको कार्यालय बलराले जनाएको छ ।बलरामा नगर प्रमुख,उप प्रमुखका साथै ११ जना वडाध्यक्ष र ४४ जना वडा सदस्य गरी ५७ जना मतदाता रहेका थिए । जसमा सिंह ३९ मत पाएर कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन ।
‘राजपुत’ जातीलाई सरकारले अल्पसंख्यक जातजातीको सूचीमा राखेको र कांग्रेस नेता सिंह अल्पसंख्यक समुदायबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बलरा नगरपालिकामा नगर प्रमुख र उप प्रमुख पदका साथै वडा नम्बर ९,१० र ११ मा नेकपा(माओवादी केन्द्र)विजयी भएको थियो ।
आफ्नो इच्छाले नभई आम कार्यकर्ताको दबाबमा कार्यपालिका सदस्य बन्नेको नवनिर्वाचित कार्यपालिका सदस्य सिंहले बताए । बलरा नगरपालिकाका ११ वटा वडामा मध्य नेपाली कांग्रेसले  ६ वटा वडाध्यक्ष जितेको छ ।
बलरा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)ले तालमेल गरेर कार्यपालिका सदस्य चयन गरेका हुन । कांग्रेस र माओवादी केन्द्रबाट ४÷४ जना कार्यपालिका सदस्य चयन भएका छन् । दलित वा अल्पसंख्यकबाट ३ जना नगर कार्यपालिका सदस्यमा माओवादी केन्द्रका अजाद कुमार सिंह र वीरेन्द्र साह तथा नेपाली कांग्रेसका कौशल किशोर सिंह चयन भएका हुन ।
यस्तै, महिलाबाट ५ जना नगर कार्यपालिका सदस्यमा कांग्रेसकी बालकेशी देवी पासवान, प्रमिला देवी र सुशीला देवी तथा माओवादी केन्द्रका जैकली देवी र भागिया देवी चयन भएका निर्वाचन अधिकृतको कार्यालय बलराले जनाएको छ । बलरामा माओवादी केन्द्रबाट नगर प्रमुखमा रामाशंकर कुशबाह र उप प्रमुखमा माओवादी केन्द्र कै कोशिला देवी निर्वाचित हुनु भएको छ ।

सम्बन्धित समाचार