Close This

प्रहरीको फितलो अनुसन्धानले निर्दाेष अन्यायमा,संग्लग्नलाई उन्मुक्ती दिएको पीडित पक्षको गुनासो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-१३ गते   १२४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका २ का एक परिवारले प्रहरीको फितलो अनुसन्धानले गर्दा एक वर्षदेखि कानुनी झमेला व्यर्होनु परेको गुनासो गरेका छन् । दुर्घटनामा संलग्न नभएपनि मुद्दा लगाएर ईलाका प्रहरी कार्यालय लालबन्दीले फसाएको लालबन्दी नगरपालिका २ का थिर बहादुर खड्काको गुनासो छ ।
आफ्नो ट्याक्टर दुर्घटनामा संलग्न नरहेको आधार प्रमाण पेस गरिरहँदा पनि प्रहरीले अनुसन्धान नै नगरी एकतर्फी रुपमा फसाएको लालबन्दी नगरपालिका–२ का खड्काले गुनासो गर्नु भयो । दुर्घटना गराएको मुख्य ट्याक्टर अर्कै रहेको खुलेपनि इलाका प्रहरी कार्यालय लालबन्दीले कुनै सुनुवाई नै नगरेको खड्काको दुःखेसो छ । आफुहरुसंग भएको सवै आधार प्रमाणसहित इलाका प्रहरी कार्यालय लालबन्दीमा धाउँदा, मुद्दा अदालतमा गइसकेको भन्दै सुन्नै नचाहेको उनले बताए ।
गतबर्ष कात्तिक–१० गते नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत लालबन्दी नगरपालिका–२ जुटपानीमा ४ जना सवार प्रदेश–२–०३–००६ प ३७७० नम्बरको मोटरसाइकल ट्याक्टरमा ठोक्किन गई दुर्घटना भएको थियो । त्यस लगतै ट्याक्टर फरार भएको थियो । दुर्घटनामा स्थानीय १८ बर्षका अंकुस पासवानको घटनास्थलमै मृत्यु भएको थियो भने १८ बर्षीय निसान्त, २९ बर्षीय अंगद र २८ बर्षीय रितिक पासवान गरी तीन जना घाइते भएका थिए । तत्कालै ईलाका प्रहरी कार्यालय लालबन्दीले फरार ट्याक्टरको खोजी कार्य सुरु गरेपनि फेला नपरेपछि, दुईदिन पछि स्थानीयले पराल लोड गर्दै गरेको अवस्थामा खड्काको प्रदेश–२–०३––००१ त १२८२ नम्बरको ट्याक्टर खेतैबाट नियन्त्रणमा लिई मुद्धा चलाएको थियो ।
ट्याक्टरका चालक फेकन राम(नथुनिया)ले पनि आफूले नै दुर्घटना गराएको प्रहरी समक्ष स्विकार गरे, तथापी चालकले नै दुर्घटना गराएको स्विकार गरेपछि प्रहरीले पनि चालककै बयानको आधारमा सवारी ज्यान तथा अंगभंग मुद्दा दर्ता गरेको थियो । दुर्घटनामा चालकको बयान बाझिरहँदा प्रहरीससँग यही ट्याक्टरले नै दुर्घटना गराएको भनेर अरु थप प्रमाण नरहेको पीडित पक्षको भनाई छ ।
प्रहरीको गलत अनुसन्धानले निर्दोस सजायको भागीदार भएका छन् भने दुर्घटनामा संग्लग्न ट्याक्टर  खुलेआम घुमिरहेको खड्काले बताए । यस दुर्घटनाका मृतक तथा घाइतेले क्षतिपूर्ति पाउन सकेका छैनन् भने घटनामा संलग्न नै नभएको भनिएको ट्याक्टर एक वर्षदेखि ईलाका प्रहरी कार्यालय लालबन्दीको परिसरमा थन्किएको छ । प्रहरीले भने चालकले दुर्घटना आफूले नै गराएको हो भन्दै बारम्बार बयान दिएकाले त्यसैको आधारमा मुद्दा दायर गरी कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।तर पछिल्लो समयमा दुर्घटना गराउँने ट्याक्टर फेला परेपछि प्रहरी पनि अलमलमा परेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech