सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ माझकुभिन्डेमा मंगलबारदेखि जुनार प्रवद्र्धन मेला सुरु भएको छ।“गोलन्जोरको सान,जुनार हाम्रो पहिचान”भन्ने नारा सहित गोलन्जोर गाउँपालिकाले आयोजना गरेको जुनार प्रवद्र्धन मेलाको बागमती प्रदेश सरकारका कृषि तथा पशु विकास मन्त्री मधुसुदन पौडेलले उद्घाटन गरेका हुन ।
जुनारको पहिचान,प्रचार–प्रसारको संरक्षण र जुनार उद्योग,जुनार क्षेत्रमा पक्की सडक बनाउन प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउन गाउँपालिकाले जुनार प्रबद्र्धन मेला आयोजना गरेको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले बताए।उनका अनुसार मंसिर २५ गते सम्म सञ्चालन हुने जुनार मेलामा कृषि विज्ञ र कृषकहरू बिच जुनारमा देखिएको रोग किरा नियन्त्रणको उपाय,उद्योगको संम्भावना लगायतको विषयमा छलफल समेत हुने छ ।
गोलन्जोर गाउँपालिकाको डुडभन्ज्यांङ,वितिजोर,भुवनेश्वरी,रतनचुरा,वाशेश्वर लगायतका क्षेत्रमा जुनार उत्पादन हुने र यहाँ उत्पादन भएको जुनारलाई प्रचार प्रसारण गर्न मेलाको आयोजना गरिएको गाउँपालिका उपाअध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)ले बताए । उनका अनुसार गोलन्जोर सहित कमलामाई नगरपालिका ३ जलकन्या,बाटो निगाले,तीनपाटन गाउँपालिका ७ तोश्रमखोला र सुनकोशी गाउँपालिकाको मझुवामा पनि केही मात्रामा जुनार उत्पादन हुदै आएको भएपनि प्रचार प्रसारको अभावमा सिन्धुलीको जुनारले पहिचान बनाउन सकेको छैन् ।
मेलामा उद्योग बाणिज्य भुमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ,बागमती प्रदेशसभा सदस्य एवम निवर्तमान मन्त्री गंगा नारायण श्रेष्ठ,प्रदेश सभा सदस्य राम कुमार पहाडी,सुस्पा भुजेल,जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा,जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधिहरू र स्थानीय लगायतको उपस्थिति भएको छ ।