Close This

सर्लाहीका क्रसर उद्योगहरुको पुनः अनुगमन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-११ गते   २८४ पटक हेरिएको

जिल्लाका ढुंगा गिटी क्रसर उद्योगहरुको फेरि अनुगमन सुरु भएको छ ।  देशभर मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योग बन्द गर्ने संघीय सरकारको निर्णय बमोजिम सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वको टोलीले जिल्लाका क्रसर उद्योगहरुको अवस्था बुझ्न स्थलगत अनुगमन सुरु गरेको हो  ।
चन्द्रीका साहले सञ्चालन गरेको हरिपुर र श्रीनगरको क्रसर उद्योग तथा संविधान सभा सदस्य एवं पूर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठले सञ्चालन गरेको फूलजोरको क्रसर उद्योग र लालबन्दी नगरपालिका–१७ को रानीगञ्जमा रहेको क्रसर उद्योगको स्थलगत अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
पहिलो चरणमा अनुगमन गरिएकामध्ये ४ वटै उद्योगको नवीकरण फेल भएको र अन्य केही मापदण्ड समेत पालना नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ । चारवटै क्रसर उद्योगलाई अहिले तयारी अवस्थामा रहेका माल बिक्री गर्न तर उद्योग सञ्चालन गरी नयाँ माल तयार नगर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
प्रजिअ पौडेलका अनुसार बुधबार हरिपुर, लालबन्दी १७ रानीगञ्ज र फुलजोरमा रहेका क्रसर उद्योगको अनुगमन गरिएको हो  ।त्यसमध्ये  श्रीनगरको क्रसर उद्योग प्रायः बन्द रहेको पाइएको छ । बागमती लगायतका स्थानमा रहेका क्रसरहरुको विहिबार अनुगमन गरिएको हो । सबै उद्योगको अनुगमन गरेपछि यहाँको वस्तुस्थितिबारे केन्द्रमा जानकारी पठाउने र त्यहीँबाट थप निर्णय हुने अनुगमन समितिले जनाएको छ ।
जिल्लामा १६ वटा क्रसर उद्योगहरु दर्ता रहेका भएपनि हाल ८ वटा क्रसर उद्योगहरु सञ्चालनको अवस्थामा रहेका छन् । प्रजिअ पौडेल सहितको टोलीले जिल्लाका नदीहरुमा भई रहेको उत्खन्नको समेत अनुगमन गरेको छ ।
जिल्ला स्तरीय टोलीले गएको भदौ महिनामा पनि जिल्लाका क्रसर उद्योगहरुको अनुगमन गरेको थियो । यो पटकको अनुगमनपछि जिल्लामा के–कति क्रसर उद्योगहरु छन् र तीमध्ये कुन–कुन कसरी सञ्चालन भइरहेका छन् भन्ने थाहा हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो। तर जिल्लामा यसरी पटक पटक अनुगमन भई रहेपनि क्रसर उद्योगहरु सञ्चालन रोकिएको छैन ।
जिल्लाका अधिकांश क्रसर उद्योगहरु मापदण्ड अनुसार सञ्चालन नभइरहेका, नियमित अनुगमनको पनि अभाव रहेको र कमजोरी भेटिँदा गरिने कार्बाही पनि फितलो हुने गरेको गुनासो बारम्बार आउने गरेको छ । देशब्यापी रुपमा चर्चा चलेको बेला झाराटराई अनुगमन गर्ने तर कार्बाही भने नहुने प्रचलनका कारण अवैध रुपमा क्रसर उद्योगहरु चलिनै रहेका पाइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech