सर्लाहीको बागमती नगरपालिका–२ स्थित धरहरामा रहेको जनवाल कल्याण मा.विमा प्राविधिक तथा कक्षा १२ सम्म अध्यायन अध्यापन गराउने उद्धेश्यले भवन निर्माण सुरु भएको छ।कक्षा १० सम्म अध्यायन अध्यापन भई रहेको विद्यालयको शैक्षिक गुणस्तर बृद्धि हुनुका साथै विद्यार्थी संख्यामा पनि बृद्धि भएकाले रु दुई करोड ३२ लाखमा १२ कोठे तीन तले भवन निर्माण सुरु गरिएको विद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले जानकारी दिए।उनका अनुसार भवन निर्माण भएपछि कक्षा १२ सम्मका साथै आधुनिक र प्राविधिक शिक्षा सञ्चालन गर्न सहज हुने छ ।

आफ्नो आन्तरिक स्रोत नरहेको जनवाल कल्याण मा.विमा स्थापना भएका विभिन्न अक्षय कोषहरुबाट उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानका साथै पुरस्कार वितरण गरि रहेको र पछिल्लो समयमा शिक्षाको गुणस्तर बृद्धि भएपछि विद्यार्थीहरु थपिँदा कक्षा कोठाको अभाव रहेको नगरपालिकालाई जानकारी गराएपछि नगरपालिकाले चासोका साथ रु दुई करोड ३२ लाखमा १२ कोठे तीन तले भवन निर्माण गर्न सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर बोहराले बताए । उनका अनुसार बागमती नगरपालिका–२ का वडा अध्यक्ष टेक बहादुर बल(बाबु) सहित विभिन्न अक्षय कोषका स्थापनाकारहरु,विद्यालय परिवार र स्थानीयको विशेष उपस्थितिमा विद्यालय भवनको सिलान्यास गरिएको हो।२०८४ असार मसान्त सम्म विद्यालय भवन निर्माण गरि सक्ने गरी रोहिनी/पृथ्वी/प्रवेश(जेभी)ले भवन निर्माणको ठेक्का पाएको छ ।

शैक्षीक सत्र २०८२ मा कक्षा १० मा अध्यायनरत विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहरा र विद्यालयको प्रशासन शाखाका प्रमुखले तीन दशकलव छ जिपिए भन्दा बढी ल्याउन सक्ने विद्यार्थीहरु सबैलाई विभिन्न दाताहरुबाट पुजी संकलन गरी जनही रु २५ हजारका दरले पुरस्कार दिने घोषणा गरे अनुरुप एसइइ परीक्षा २०८२ मा तीन दशमलव छ भन्दा माथि जिपिए ल्याउने एक जना मात्रै विद्यार्थी स्मृति बोहरालाई रू २५ हजार सहित सम्मन तथा पुरस्कृत वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ।यसका साथै विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गर्दा शैक्षीक सत्र २०८२ मा सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रा निर्विका तिमल्सिना र छात्र स्वर्णिम मैनालीलाई रुद्रदीप स्मृति अक्षय कोषबाट रु आठ हजार पाँच सहित पुरस्कृत र सम्मान प्रदान गरिएको छ ।

यता,विद्यालयको क्षेत्र पहिचान गर्दै १२ कोठे भवनको लागि बजेट विनियोजन गरी शिलान्यास गर्न सक्षम बनाउने बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरत कुमार थापा, कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामा,शिक्षा प्रमुख मिन प्रसा उपाध्याय,सहित बागमती नगरपालिकाका जनप्रतिनिधिहरु,कर्मचारीहरु र प्राविधिक शाखालाई बिद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनले धन्यवाद समेत व्यक्त गरेको छ ।