सर्लाहीको लालबन्दीमा रहेको तेस्रो शहरी साना आयोजना अन्र्तगत लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था ली.को नयाँ नेतृत्व चयन गर्न शनिबार मतदान भएको छ ।
शनिबार भएको मतदानमा जम्मा ६ हजार ८ सय ३५ उपभोक्तामध्ये ४ हजार ७ सय ४५ मत खसेको छ । कुल उपभोक्ताको ६९ दशमलव ४२ प्रतिशत अर्थात् ४ हजार ७ सय ४५ उपभोक्ताले मत खसालेका निर्वाचन समितिले जनाएको छ ।
तीनवटै मतदानस्थलमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म शान्तपूर्वक रुपमा मतदान सम्पन्न भएको निर्वाचन समितिका संयोजक गोपाल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तीनवटै स्थानको मतपेटिका संकलन गरी संस्थाको केन्द्रीय कार्यालय लालबन्दी नगरपालिका ६ लेखाली चौरमा जम्मा पारिसकिएको छ ।
अब उम्मेदवारहरुलाई राखेर छलफल गरी आचारसंहिता तय गर्ने शनिबार रातीबाटै मतगणनाको काम सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिका संयोजक थापाले बताउनुभयो । खानेपानीको निर्वाचन अन्तर्गत लालबन्दी नगरपालिका ३, ४ र ५ का उपभोक्ताका लागि शिशु कल्याण जनता मावि हरिभवन, लालबन्दी ६, ७, ८ र ९ का उपभोक्ताका लागि खानेपानीकै केन्द्रीय कार्यालय लालबन्दी ६ लेखाली चौर र लालबन्दी १०, ११, १२ र १३ का उपभोक्ताहरुका लागि हिरापुर आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएको थियो ।
लालबन्दी नगरपालिकाका ११ वटा वडामा खानेपानी सेवा वितरण गर्दै आइरहेको खानेपानी संस्थाको ४ बर्षे कार्यकालको अध्यक्षका लागि नेपाली कांग्रेस र नेकपा(एकिकृत समाजवादी)बाट इन्द्र योन्जन,नेकपा(माओवादी केन्द्र),लोसपा र जसपाबाट हेमबहादुर श्रेष्ठ (श्याम) र नेकपा(एमाले) र राप्रपाबाट देवनाथ पोखरेलको उम्मेदवारी परेको छ । निर्वाचन समितिले योन्जनलाई करुवा, श्रेष्ठलाई घर र पोखरेललाई चश्मा चुनाव चिन्ह प्रदान गरेको थियो । खानेपानीको यो निर्वाचनलाई दलहरुले प्रतिष्ठाको रुपमा हेरेका छन् ।