मनसुन नबाहिरिँदा यस वर्षको दशैँ“हिलेदशैँ”हुने संकेत

354 Shares

असार साउनमा नपरेको पानी भदौ अन्तीम सातादेखि पर्न थालेपछि यस वर्षको दशैँ हिलेदशैँ हुने संकेत देखिएको छ।सामान्यतया असोज १४ बाट मनसुन बाहिरिने मौसमविद्हरूले अनुमान गरेपनि पछिल्ला विश्लेषण अनुसार त्यसपछि पनि केही दिन वर्षा जारी रहने सम्भावना देखिँदा यस वर्षको दशैँ हिलेदशैँ हुने संकेत देखिएको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताईन् ।
उनका अनुसार हालको प्रवृत्ति हेर्दा मनसुन सहजै अन्त्य हुने स्थिति छैन जसका कारण यसपालिको दशैँ“हिलेदशैँ”हुने अवस्था बन्ने सम्भावना बढी छ।भारतको पश्चिमी भूभागमा भने मनसुन बाहिरिने प्रक्रिया सुरु भइसकेको भए पनि नेपालमा अझै केही साता कुर्नुपर्ने देखिन्छ।यसको कारण न्यूनचापीय रेखा उत्तरतर्फ सर्दा,बंगालको खाडी वा अरब सागरबाट आउने प्रणालीहरू सक्रिय नभएको मौसमविद्हरूले अनुमान गरेका छन् ।यसले गर्दा नेपालमा अपेक्षित रूपमा ठूलो प्रणाली विकास हुन सकेन ।
विभागका तथ्यांक अनुसार असोज २ गतेसम्म देशभर एक हजार एक सय २२ दशमलव चार मिलिमिटर पानी परेको छ,जुन वार्षिक औसतको ८९ दशमलव १ प्रतिशत हो।यो सामान्य श्रेणीमा पर्ने भए पनि वितरण असमान देखिन्छ।सुदूरपश्चिमका पहाडी भेगमा एक सय १० प्रतिशत भन्दा बढी वर्षा हुँदा मधेश प्रदेशमा भने वार्षिक औसतको ६४ दशमलव पाँच प्रतिशत मात्रै पानी परेको छ।कतै अतिवृष्टि र कतै अल्पवृष्टि देखिँदा धेरै स्थानहरूमा खण्डवृष्टिको स्थिति सृजना भएको मौसमविद्हरूले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता पोखरेलका अनुसार यसपालि मनसुन “खण्डित” ढंगले चलेको छ।जुलाई महिनामा त कुनै ठूला प्रणाली नदेखिँदा कतिपय ठाउँमा सुक्खा जस्तै अवस्था रह्यो।तर स्थानीय स्तरमा जलवाष्पयुक्त हावाका कारण कतै ठूलो वर्षा भयो भने छेउकै ठाउँमा सुक्खा रह्यो । 
यसरी कतै अत्यधिक वर्षा र कतै पानी नै नपर्ने असमानताले कृषिमा पनि मिश्रित प्रभाव पार्ने कृषीविद्धहरुले अनुमान गरेका छन्।यसले दशैँअघि किसानहरूले आशा गरेका भन्दा भिन्न परिणाम ल्याउन सक्ने विशेषज्ञहरूको चेतावनी छ।नेपालका मौसमविद्हरूले आगामी दिनमा अझ स्पष्ट आँकलन आउने बताए पनि अहिलेसम्मको स्थिति हेर्दा मनसुनको विदाइ ढिलो हुने पक्का देखिएको छ।अघिल्लो वर्षको तुलनामा दशैँ पनि अगाडि नै रहेका कारण यस वर्षको दशैँ हिलेदशैँ हुने संकेत देखिएको हो ।

सम्बन्धित समाचार