सर्लाहीको लालबन्दी नगरपालिका मधेस प्रदेशका एक सय ३६ पालिकामध्ये उत्कृष्ट स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै मधेश प्रदेश मै पहिलो घोषणा भएको छ ।मधेश प्रदेशका एक सय ३६ पालिकाहरुको तीन दिवसीय वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रमहरुमा लालबन्दी नगरपालिकालाई मधेश प्रदश पहिलो घोषणा भएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा सम्पादित स्वास्थ्य सेवा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरी निर्धारित सूचकको आधारमा मधेश प्रदेशका एक सय ३६ पाकिलाहरु मध्य लालबन्दी नगरपालिका मधेश प्रदेशमै पहिलो भएको हो । लालबन्दीन नगरपालिकाले ९९ दशमलव ३ अंक प्राप्त गरी पहिलो हुँदा सर्लाहीकै हरिपुर नगरपालिका दोस्रो रसर्लाहीकै विष्णुपुर गाउँपालिका तेस्रो भएका छन् ।
मधेस प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा स्वास्थ्य सेवा प्रवाहमा प्रदेशमै उत्कृष्ट भई प्रथम स्थान हाँसिल गरेको लालबन्दी नगरपालिकालाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका सचिव डा.ओमप्रसाद अर्याल र स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक सरोज चन्द्र न्यौपानेले प्रशंसा–पत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका लालबन्दी नगरपालिकाकाको स्वास्थ्य शाखाले जनाएको छ ।लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारी,प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने र स्वास्थ्य शाखा प्रमुख मिकरानीले सम्मान ग्रहण गरेका हुन ।
त्यस्तै मधेश प्रदेशमा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने पालिकामध्ये ९५ दशमलव ८७ अंक प्राप्त गरी हरिपुर नगरपालिका दोस्रो र ९५ दशमलव ६९ अंक प्राप्त गरी सर्लाहीकै विष्णु गाउँपालिका मधेश प्रदेश मै स्वास्थ्य क्षेत्रमा तेस्रो भएका छन् । यसअघि लगातार दुई वर्ष मधेश प्रदेशमा पहिलो बनेको हरिवन नगरपालिका भने यो वर्ष चौंथो भएको छ ।
मधेशका एक सय ३६ पालिकामध्ये उत्कृष्ट १० मा पर्ने पालिकामध्ये सर्लाहीकै बसबरिया गाउँपालिका पाँचौं र धनकौल गाउँपालिका दशौँ बनेका छन् । पालिकाले सञ्चालन गरेको खोप कार्यक्रम,मातहतका स्वास्थ्य संस्थाबाट प्रदान गरिएको स्वास्थ्य सेवा,स्वास्थ्य संस्थामा भएको सुत्केरीको दर,कुपोषित बालबालिका,क्षयरोग तथा एचआइभी सङ्क्रमित बिरामीको अवस्था र उपचारको स्थिति र सम्वन्धित निकायमा समयमै विवरण पठाएको लगायतलाई आधार मानेर पालिकाहरुको स्वास्थ्य कार्यक्रमको अवस्था मुल्यांकन गर्ने गरिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक न्यौपानेले बताए ।साथै जिल्लास्तरको स्वास्थ्य सम्बन्धी मुल्यांकलनमा जिल्ला स्वास्थ्य कार्यालय पर्सा पहिलो र जिल्ला स्वास्थ्य कार्यालय सर्लाही दोस्रो भएका छन् ।
यता,प्रादेशिक अस्पतालतर्फ गौर अस्पताल रौतहट प्रथम,जलेश्वर अस्पताल द्वितीय र सिरहा अस्पताल तृतीय भएका छन् ।स्वास्थ्य कार्यालयको समग्र मूल्यांकनमा पर्सा प्रथम,सर्लाही द्वितीय र महोत्तरी तृतीय भएका स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।निर्देशनालयका अनुसार आयुर्वेद सेवातर्फ पर्सा प्रथम,बारा द्वितीय र महोत्तरी तृतीय घोषित भएका छन् । संस्थागत अस्पताल श्रेणीमा बर्दिबास अस्पताललाई प्रथम घोषणा गरिएको छ ।