लालबन्दी खानेपानी संस्थाको निर्वाचनमा करिब ७० प्रतिशत मतदान,

2.1k Shares

सर्लाहीको लालबन्दीमा रहेको तेस्रो शहरी साना आयोजना अन्र्तगत लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था ली.को नयाँ नेतृत्व चयन गर्न शनिबार मतदान भएको छ ।
शनिबार भएको मतदानमा जम्मा ६ हजार ८ सय ३५ उपभोक्तामध्ये ४ हजार ७ सय ४५ मत खसेको छ । कुल उपभोक्ताको ६९ दशमलव ४२ प्रतिशत अर्थात् ४ हजार ७ सय ४५ उपभोक्ताले मत खसालेका निर्वाचन समितिले जनाएको छ ।
तीनवटै मतदानस्थलमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म शान्तपूर्वक रुपमा मतदान सम्पन्न भएको निर्वाचन समितिका संयोजक गोपाल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तीनवटै स्थानको मतपेटिका संकलन गरी संस्थाको केन्द्रीय कार्यालय लालबन्दी नगरपालिका ६ लेखाली चौरमा जम्मा पारिसकिएको छ ।
अब उम्मेदवारहरुलाई राखेर छलफल गरी आचारसंहिता तय गर्ने शनिबार रातीबाटै  मतगणनाको काम  सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिका संयोजक थापाले बताउनुभयो । खानेपानीको निर्वाचन अन्तर्गत लालबन्दी नगरपालिका ३, ४ र ५ का उपभोक्ताका लागि शिशु कल्याण जनता मावि हरिभवन, लालबन्दी ६, ७, ८ र ९ का उपभोक्ताका लागि खानेपानीकै केन्द्रीय कार्यालय लालबन्दी ६ लेखाली चौर र लालबन्दी १०, ११, १२ र १३ का उपभोक्ताहरुका लागि हिरापुर आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएको थियो ।
लालबन्दी नगरपालिकाका ११ वटा वडामा खानेपानी सेवा वितरण गर्दै आइरहेको खानेपानी संस्थाको ४ बर्षे कार्यकालको अध्यक्षका लागि नेपाली कांग्रेस र नेकपा(एकिकृत समाजवादी)बाट इन्द्र योन्जन,नेकपा(माओवादी केन्द्र),लोसपा र जसपाबाट हेमबहादुर श्रेष्ठ (श्याम) र नेकपा(एमाले) र राप्रपाबाट देवनाथ पोखरेलको उम्मेदवारी परेको छ । निर्वाचन समितिले योन्जनलाई करुवा, श्रेष्ठलाई घर र पोखरेललाई चश्मा चुनाव चिन्ह प्रदान गरेको थियो । खानेपानीको यो निर्वाचनलाई दलहरुले प्रतिष्ठाको रुपमा हेरेका छन् ।

सम्बन्धित समाचार