काभ्रेको रोशी गाउँपालिका ३ स्थित भञ्ज्याङमा आफ्नी आमाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।रोशी गाउँपालिका ३ स्थित भञ्ज्याङकी अन्दाजी ६९ वर्षिय माईली लामाको हत्या गरेको आरोपमा उनकै कान्छो छोरो अन्दाजी वर्ष २८ का फुर्साङ लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक वसुन्धरा खड्काले जानकारी दिईन् ।
उनका अनुसार कात्तिक १६ गते ६९ वर्षीय माईलीको शव आफ्नै घरको भान्सा कोठामा बरामद् भएको थियो।सो विषयमा अनुसन्धान गर्ने क्रममा फुर्साङले भान्सा कोठामा सुतिरहेकी आमाले कानमा लगाएको सुनको रिङ र नगदको लोभमा मसला पिस्ने सिलौटो र ढुङ्गाको लोरोले टाउकोमा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको काभ्रे प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मृत्यु भएपछि आमाले कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगद समेत लिई घटनास्थलबाट फुर्साङ फरार भएका थिए ।