सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगर अस्पतालमा औषधी प्रतिरोधी क्षयरोग उपचार केन्द्रको स्थापना गरिएको छ।राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र सानोठिभी, भक्तपुरको सहयोगमा लालबन्दी नगर अस्पतालमा कडा किसिमको क्षयरोगीको उपचारका लागि डूग रजिष्टे«न्स डी.आर.टिबी सेन्टर स्थापना गरिएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले जानकारी दिए ।उनका अनुसार लालबन्दी नगर अस्पतालमा यसअघि सामान्य किसिमका क्षयरोगीको मात्रै उपचार हुने गरेकामा अब क्षयरोगका औषधीहरु चलाउँदा समेत काम नगर्ने कडा किसिमका क्षयरोगीको उपचार गरिने भएको हो ।
सामान्य किसिमका क्षयरोगीलाई दुई हप्तासम्म औषधी चलाएपछि केही सुधार हुने गरेको र यदि सुधार नभए अब“जिन एक्सर्ट मेसिन” प्रयोग गरेर सामान्य अवस्थाका क्षयरोगीलाई चलाइने क्षयरोगका औषधीले काम गरे÷नगरेको परीक्षण गरी थप उपचार सुरु गर्ने सक्ने व्यवस्था मिलाइएको लालबन्दी नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीले जानकारी दिए।उनका अनुसार कडा किसिमको क्षयरोगीको उपचार सेवा सुरु गर्न नगर अस्पतालका एक जना मेडिकल अफिसर र दुई जना सिनियर अहेबलाई आवश्यक तालिम दिइएको छ।बिरामीको उपचारका लागि आवश्यक पर्ने औजार र उपकरण राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले मधेश प्रदेशको स्वास्थ्य निर्देशनालय मार्फत लालबन्दी नगर अस्पताललाई प्रदान गरेको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।शाखाका अनुसार मधेश प्रदेशको राजधानी जनकपुरका साथै मिथिला नगरपालिकाको ढल्केवर र सर्लाहीको लालबन्दी नगर अस्पतालमा औषधी प्रतिरोधी क्षयरोग उपचार केन्द्र स्थापना भएको हो ।
औषधी प्रतिरोधी क्षयरोग उपचार केन्द्र स्थापना कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा.प्रज्वल श्रेष्ठ र लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका नगर प्रमुख अधिकारीको सचिवालयले जनाएको छ।कार्यक्रममा मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.श्रवण कुमार नायक,लालबन्दी नगरपालिकाकी नगर उपप्रमुख कल्पनामाया पाख्रिन,राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका जनस्वास्थ्य अधिकृत शिवशंकर महतो,मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका डा.राजवीर यादव,जनस्वास्थ्य कार्यालय मलंगवाका बलिराम यादव र नगर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
लालबन्दी नगर अस्पतालमा अक्सिजन उत्पादन गर्ने प्लान्टको स्थापना समेत गरिएको छ।पाँच जना विशेषज्ञ चिकित्सकहरुले सेवा प्रवाह गरि रहेको लालबन्दी नगर अस्पतालमा अहिले बीमाको औषधी सहित विशेषज्ञ सूत्केरी सेवा लगायतका धेरै किसिमका स्वास्थ्य सेवाहरु प्रवाह गरि रहेको नगर अस्पतालले पछिल्लो समय लालबन्दी सहित छिमेकी स्थानीय तहहरुका बिरामीहरुलाई विशेषज्ञ सेवा प्रवाह गरि रहेको छ ।