सर्लाहीका विभिन्न स्थानहरुमा सञ्चालित अधिकांश निजी स्वासथ्य संस्थाहरु कानुनी दायराभन्दा बाहिर सञ्चालनमा रहेको पाइएको छ।जिल्लामा सञ्चालित निजी स्वास्थ्य संस्थाहरूले राज्यले तोकेको न्यूनमत मापदण्ड समेत पालना नगरेका पाइएको हो।निजी स्वास्थ्य संस्था सञ्चालनका लागि सम्बन्धीत सरोकारवाला निकायबाट समेत अनुमती नलिइ सञ्चालन भएका भएपनि जिल्लाका नियामक निकायहरु मौन देखिएका छन् ।

स्वास्थ्य सेवा ऐन २०७५ र स्वास्थ्य संस्थाहरूको मापदण्ड २०७३ ले तोकेको स्वास्थ्य मापदण्ड अनुसार,निजी स्वास्थ्य संस्था सञ्चालन गर्नुपूर्व तोकिएको प्रक्रिया पूरा गर्नुपर्छ।तर जिल्लामा सञ्चालनमा रहेका अधिकांश क्लिनिक,मेडिको क्लिनिक,लाईफ सेन्टरहरुका साथै डायग्नोस्टिक सेन्टरहरूले मापदण्ड अनुसारको अनुमति समेत लिन चासो नदेखाएका पाइएको छ ।जिल्लामा करिब पाँच सय भन्दा बढी निजी स्वास्थ्य संस्थाहरू सञ्चालनमा रहेका भएपनि करिब ९९ प्रतिशत निजी स्वास्थ्य संस्थाहरुले राज्यले तोकेको मापदण्डको पालना समेत नगरेका साथै दर्ता अनुमती समेत नलिएका पाइएको छ ।

स्वास्थ्य सेवा ऐन २०७५ र स्वास्थ्य संस्थाहरूको मापदण्ड २०७३ ले निजी स्वास्थ्य संस्थाहरू सञ्चालनका लागि केही आधारभूत मापदण्ड तोकेको छ। जसमा स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको गुणस्तर,दक्षता,सरसफाइ र जनशक्तिसम्बन्धी न्यूनतम मापदण्ड सुनिश्चित गर्नु पर्ने उल्लेख गरिएको छ ।

कुनै पनि निजी स्वास्थ्य संस्था सञ्चालन गर्नुअघि जिल्ला स्वास्थ्य कार्यालय वा सम्बन्धित निकायमा दर्ता गर्नु पर्ने,दर्ता गरिएका संस्थाले नियमित रूपमा अनुमतिपत्र नवीकरण गर्नुपर्ने,नवीकरणका लागि सेवा,जनशक्ति,उपकरण र पूर्वाधारको विवरण पेश गर्नुपर्ने,स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक,नर्स,प्राविधिक र अन्य जनशक्तिले नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित निकायबाट प्रमाणित भएको योग्यता प्राप्त गरेको हुनुपर्ने,जनशक्तिको संख्या संस्थाको सेवा प्रकार र क्षमताअनुसार तोकिएको हुनुपर्ने,अनधिकृत र अप्रशिक्षित व्यक्तिहरूबाट सेवा प्रवाहमा प्रतिबन्ध रहेको उल्लेख छ ।

त्यसैगरी,स्वास्थ्य संस्थाहरूमा बिरामीहरूको उपचारका लागि आवश्यक न्यूनतम पूर्वाधार अनिवार्य हुनुपर्ने,उचित सरसफाइ र हावा निकासको व्यवस्था,पर्याप्त बेड,विश्रामकक्ष र शौचालयको सुविधा हुुनु पर्ने,बिरामीहरू र कर्मचारीहरूको सुरक्षाका लागि आकस्मिक निकास हुुनु पर्ने,प्रयोग गरिने उपकरणहरू प्राविधिक मापदण्डअनुसार स्वीकृत भएको हुनुपर्ने र उपकरणहरूको नियमित मर्मत र जाँच अनिवार्य गर्नु पर्ने उल्लेख गरिएको छ ।

साथै,स्वास्थ्य संस्थाले दिने सेवाहरूको विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने,सेवाको गुणस्तर कायम गर्न नियमित अनुगमन र मूल्यांकन गर्नुपर्ने,जटिल र गम्भीर प्रकृतिका बिरामीहरूको उपचार गर्न सक्ने व्यवस्था नभएमा सम्बन्धित बिरामीलाई उपयुक्त स्वास्थ्य संस्थामा सिफारिस गर्नुपर्ने,संस्थाले औषधि भण्डारण गर्न तापक्रम नियन्त्रणको उचित व्यवस्था गर्नुपर्ने,औषधि वितरण चिकित्सकको सिफारिसमा मात्र गर्नुपर्ने,म्याद सकिएका औषधि तुरुन्त नष्ट गर्ने व्यवस्था,अस्पताल र क्लिनिकमा सरसफाइको उच्च मापदण्ड कायम गर्नुपर्ने,मेडिकल फोहोर व्यवस्थापनका लागि छुट्टै व्यवस्थाको अनिवार्य व्यवस्था भएको हुनु पर्ने,संक्रमण रोकथामका लागि स्वास्थ्यकर्मीहरूले अनिवार्य रूपमा सुरक्षात्मक उपकरण (जस्तैःग्लोभ्स,मास्क) प्रयोग गर्नुपर्ने,सेवा शुल्कको मूल्यसूची स्पष्ट रूपमा बिरामी र सेवाग्राहीहरूले देख्न सक्ने स्थानमा राख्नुपर्ने र तोकिएको मूल्यभन्दा बढी शुल्क लिन नहुने व्यवस्था गरिएको छ ।

आकस्मिक सेवाका लागि आवश्यक जनशक्ति,उपकरण,औषधि र अन्य सामग्रीको व्यवस्थापन अनिवार्य हुनुपर्ने,दुर्घटना, आगलागी वा अन्य आपतकालीन अवस्थामा तत्काल सेवा उपलब्ध गराउनु पर्ने,निजी स्वास्थ्य संस्थाहरूले आफ्नो सेवा,उपकरण र आर्थिक गतिविधिको वार्षिक प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्नुपर्ने,जिल्ला स्वास्थ्य कार्यालय वा अन्य नियामक निकायहरूले नियमित रूपमा स्वास्थ्य संस्थाहरूको अनुगमन गर्ने,मापदण्ड पूरा नगर्ने संस्थालाई चेतावनी, जरिवाना, वा अनुमतिपत्र खारेज गर्ने प्रावधान रहेको छ ।

स्वास्थ्य सेवा ऐन २०७५ र स्वास्थ्य संस्थाहरूको मापदण्ड २०७३ ले बिरामीहरूको स्वास्थ्य सुरक्षा र गुणस्तरीय सेवा सुनिश्चित गर्न कडा मापदण्ड तोकेको भएपनि मापदण्डको खिल्ली उडाउँदै सर्लाहीका अधिकांश निजी स्वास्थ्य संस्थाहरुले स्वास्थ्य सेवालाई व्यापारको रुपमा गरि रहेका भएपनि सरोकारवाला निकाय मापदण्डको प्रभावकारी कार्यान्वयन भए/नभएको भन्ने सवालमा अनुगमन गर्न सुस्त देखिएको छ।जसका कारण सर्लाहीका निजी स्वास्थ्यहरुको मनोमानी बढि रहेको छ ।

नियमित अनुगमन र कारबाहीको अभावले जिल्लाका निजी स्वास्थ्य संस्थाहरूलाई मनोमानी गर्न प्रोत्साहन मिलेको जानकारहरु बताउँछन्।जिल्ला प्रशासन कार्यालय सर्लाहीका साथै जनस्वास्थ्य कार्यालय सर्लाही र सम्बन्धीत स्थानीय तहहरु निजी स्वास्थ्य संस्थाहरुको नियमन तथा अनुगमनमा सुस्त देखिएका जानकारहरुको आरोप छ।उनीहरुका अनुसार सेवाग्राहीहरूलाई मापदण्ड र कानुनी पक्षबारे पर्याप्त जानकारी नभएकाले जिल्लाका निजी स्वास्थ्य संस्थाहरुलाई अनियमित गर्न सहज भएको छ ।
अनुगमनको अभाव
स्वास्थ्य सेवा विभाग,औषधी व्यवस्था विभाग,जनस्वास्थ्य कार्यालय सर्लाही तथा जिल्ला प्रशासन कार्यालय सर्लाही र सम्बन्धीत स्थानीय तहहरुले नियमित अनुगमन,निरीक्षण तथा नियमन गर्नुपर्ने कानुनी व्यवस्था भएपनि जिल्लाका सरोकारवाला निकायहरु मौन बस्दा जिल्लाका सर्व साधारणहरु स्वास्थ्य सेवाको नाममा लुटिन बाध्य भएका छन् ।
नागरिकको स्वास्थ्य जोखिममा
मापदण्ड विपरित सञ्चालित सर्लाहीका निजी स्वास्थ्य संस्थाहरूले जिल्लाबासीको स्वास्थ्यमा गम्भीर चुनौती सिर्जना गरेका छन्।कतिपय संस्थाहरूमा बिना डाक्टरको सल्लाह औषधि बिक्रि वितरण गर्ने,धेरैजसो ठाउँमा तालिम विना नै स्वास्थ्यकर्मी राखिएका,डायग्नोस्टिक सेन्टरहरूले परीक्षण रिपोर्टहरूमा त्रुटि गर्नाले बिरामीको उपचारमा समस्या निम्तिएको तथा सरसफाइ र सुरक्षा मापदण्ड पालना नगर्दा संक्रमणको जोखिम बढेको छ।“हामीले निजी स्वास्थ्य संस्थाहरुमा धेरै पैसा खर्च गर्यौं,तर सही उपचार पाएनौँ।उल्टो हाम्रो स्वास्थ्य झन बिग्रियो र धन झन सकियो ।”एक स्थानीयले गुनासो गरे।यता, जनस्वास्थ्य काार्यलय सहित अन्य सरोकारवाला निकायहरुलाई अनुगमनलाई तीव्रता दिन निर्देशन दिएको र अनुगमनको क्रममा मापदण्ड विपरित भएका पाइए त्यस प्रकारका निजी स्वास्थ्य संस्थाहरूलाई आवश्यक कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीमा मापदण्ड विपरित सञ्चालित निजी स्वास्थ्य संस्थाहरूलाई जनस्वास्थ्य कार्यालय सहित सरोकारवाला कार्यालयहरुले जनशक्ति र स्रोतसाधन व्यवस्थापन गरी नियमित रूपमा अनुगमन गरी मापदण्ड विपरित सञ्चालित निजी स्वास्थ्य संस्थाहरूलाई कानूनी कार्बाही गर्न आवश्यक रहेको जानकारहरु बताउँछन् ।सेवाग्राहीहरूलाई कानुनी मापदण्ड र स्वास्थ्य सेवासम्बन्धी अधिकारबारे जानकारी दिनुपर्ने, स्थानीयस्तरमा स्वतन्त्र अनुगमन समितिहरू गठन गरी अनियमितता रोक्न लागि पर्दा जिल्लाका नागरिकहरुको अकालमा ज्यान जानबाट जोगिनुका साथै अनावश्यक धनखर्च समेत नहुने उनीहरुको भनाई छ ।