बागमती १ मिलनचाेक गाेली हानी भाग्ने ४ अभियुक्त पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-३ गते   १३१५ पटक हेरिएको

सर्लाहीकाे बागमती नगरपालिका १, मिलनचाेकमा सहकारीकर्मी माथि गाेली हानी फरार भएका ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । बागमती नगरपालिका १ मिलन चाेक स्थित सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनकाे सेवा केन्द्रका प्रमुख साजन कार्कीमाथि गाेली प्रहार गरि फरार भएका ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक तथा एक जना नेपाली नागरिक रहेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीकाे संयुक्त टाेलीले अभियुक्तहरु मध्य तीनजनालाई जिल्लाकाे बलरा नगरपालिका ३ बाट र नेपाली नागरिकलाई धनकाैल गाउँपालिका १ बाट  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिए । उनका अनुसार पक्राउ पर्ने भारतीय नगरिकहरुमा बिहार राज्यकाे जिल्ला शिवहर थाना छप्रा ग्राम पंचायत तरयानी छप्रा ८ बस्ने अन्दाजी वर्ष १९ का आलोक सिंह(रेहान), जिल्ला बैशाली थाना उद्याेगी क्षेत्र ग्राम पंचायत सुलतानपुर  १० बस्ने अन्दाजी वर्ष १९ का सौरभ कुमार यादव, जिल्ला मोतिहारी थाना सिगारगंज ग्राम पंचायत हराज  १२ मा अन्दाजी वर्ष १९ का गुलसन कुमार सिंह र सर्लाही धनकौल गाँपालिका  १ का अन्दाजी वर्ष ३२ का  धिरेन्द्र सहनी (डिजे)लाई  पक्राउ गरिएको हाे । 
बुधबार बिहान करिब साँढे १० बजे  ३ जनाकाे समूहमा आएका लुटेराले सेवा केन्द्रकाे कार्यालय भित्र पसेर प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए । प्रतिकार गर्ने बितिकै लुटेरा समूहले कार्कीमाथि गाेली प्रहार गरेका थिए । गाेली प्रहार गरेपछि तीनै जना भारतीय नम्बर प्लेटकाे एउटै माेटरसाईकलमा चढेर दक्षिणतर्फ भागेका थिए । कार्कीकाे शरिरका विभिन्न ४ ठाउँमा गाेली लागेकाे प्रहरीले जनाएकाे छ ।
लालबन्दी नगरपालिका २, जुटपानी निवासी ३० वर्षीय कार्कीकाे हरिवन स्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार पश्चात् हाल ललितपुरकाे मेडिसिटी अस्पतालमा उपचार भईरहेकाे छ । 
प्रहरीलाइ देखेपछि अभियुक्तहरु भाग्न खाेजेका  र प्रहरीले गाेली हान्दा १ जना घाईते पनि भएका प्रहरी स्राेतले जनाकाे छ । पक्राउ परेका अभियुक्तहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाकाे हिरासतमा राखेर विस्तृत ढंगले अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ । छानविन पश्चात घटनाकाे कारण लगायत विस्तृत जानकारी आउने प्रहरीले जनाएकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech