Close This

नागरिकता बनाउनेको संख्या बढ्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-५ गते   ३५८ पटक हेरिएको

सर्लाहीमा नागरिकता बनाउने विद्यार्थीहरुको चाप बढेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन पश्चात् नागरिकता बनाउने विद्यार्थीहरुको चाप बढेको हो ।
जिल्ला प्रशासन कार्यालयसहित हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट नागरिकता लिने विद्यार्थीहरुको चाप बढेको हो । जिल्ला प्रशासन कार्यालय सर्लाही सहित जिल्लाका अन्य दुई स्थानबाट नागरिकता प्रमाण पत्र वितरण हुँदै आएको र माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन पश्चात् नागरिकता बनाउने विद्यार्थीहरुको चाप बढेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनु भयो । उहाँले एसईईको नतिजा सार्वजनिक भएलगत्तै नागरिकता फाँटमा सेवाग्राहीको चाप दोब्बर वृद्धि भएको बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट दैनिक करिब २ सय जनाले नागरिकता लिने गरेका भएपनि एसईईको नतिजापछि दैनिक करिब ३ सय जना सेवाग्राही नागरिकता बनाउन आउने गरेको प्रमुख जिल्ला अधिकारी गौतमले  बताउनु भयो ।
त्यस्तै,इलाका प्रशासन कार्यालय बरहथवाबाट दैनिक ३० देखि ४० जनासम्मले नयाँ नागरिकता लिने गरेकोमा एसईईको नतिजापछि दैनिक ७० देखि ८० जना सेवाग्राही नागरिकता बनाउन आउने गरेको बरहथवाका प्रमुख रामनरेश रामले  बताउनु भयो ।
एसईई उत्तीर्ण भएपछि प्राविधिक विषय अध्ययन गर्न र अन्य प्रयोजनका लागि नागरिकता चाहिने भएकाले नागरिकता बनाउन आउने विद्यार्थीहरु संख्या बढेको ईलाका प्रशासन कार्यालय बरहथवाका प्रमुख रामले बताउनुभयो । बरहथवामा केही दिन अघिबाट राष्ट्रिय परिचयपत्रका लागि ‘अफलाईन’फाराम समेत भर्न थालेपछि सेवाग्राहीको चाप बढेको हो । बरहथवामा ‘अफलाईन’भरिएको फाराम जिल्ला प्रशासन कार्यालय सर्लाहमा लगेर ‘अनलाईन’ गर्ने गरिएको कार्यालयले जनाएको छ । केही दिनभित्रै आवश्यक प्रविधि र कर्मचारीको व्यवस्था गरी बरहथवाबाटै राष्ट्रिय परिचय पत्रको‘अनलाईन’ फाराम सङ्कलनको काम गर्ने तयारी भइरहेको कार्यालय प्रमुख रामले बताउनु भयो । 
यता,इलाका प्रशासन कार्यालय हरिवनमा पनि नयाँ नागरिकता र प्रतिलिपि नागरिकता लिने सेवाग्राहीको चाप बढेको हरिवनका प्रमुख गुणबहादुर भुजेलले बताउनु भयो । उहाँका अनुसार हरिवनबाट अहिले दैनिक ४० देखि ४५ वटासम्म नयाँ नागरिकता जारी भइरहेको छ ।
ईलाका प्रशासन कार्यालयहरुका साथै जिल्ला प्रशासन कार्यालय सर्लाहीको नागरिकता फाँटमा पनि निकै भीडभाड हुने गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार एसईईको नतिजापछि सेवाग्राही अझ बढेका हुन । 
कार्यालयबाट दैनिक करिब २ सय जनासम्म नयाँ नागरिकता र ८० देखि १०० जनासम्म प्रतिलिपि नागकिरता वितरण भइरहेको छ । एकै पटक ह्वात्तै भिडभाड बढ्दा नागरिकता बनाउन जाँदा घन्टौंसम्म लाइनमा बस्नुपरेको सेवाग्राहीले गुनासो छ । सीमित कर्मचारी रहेका कारण सेवाग्राहीको चाप बढ्दा,त्यसको व्यवस्थानमा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech