सिन्धुलीको कमलामाई नगरपालिका १४ का विभिन्न स्थानमा “मिनी क्यासिनो”सञ्चालन भएको रहस्य सार्वजनिक भएको छ।मदन भण्डारी राजमार्ग अन्र्तगत भिमान बजारबाट करिब १० किलोमिटर पुर्वको तल्लो रानीवासमा फरक फरक स्थानमा रातीको समयमा“मिनी क्यासिनो”सञ्चालन भएको रहस्य सार्वजनिक भएको हो ।सर्लाहीको हरिवन नगरपालिका ३ का राजु लोप्चन सहित सिन्धुलीको भिमानका गोरे भनिने शिवम लामा सहितका युवाहरुले विगत लामो समयदेखि कहिले भिमान त कहिले रानीबास,कहिले डकाहा,कहिले ठूलो अमाहा लगायतका स्थानमा अस्थायी संरचना बनाएर“मिनी क्यासिनो”सञ्चालन गर्ने गरेका भएपनि ईलाका प्रहरी कार्यालय भिमानका साथै जिल्ला प्रहरी कार्यालय सिन्धुली र बागमती प्रदेश प्रहरी कार्यालय समेत बेखबर देखिनुले प्रहरीको मिलेमतोमा “मिनी क्यासिनो”सञ्चालन हुने गरेको स्थानीयको आरोप छ ।
शान्त र ग्रामीण परिवेशका लागि परिचित सिन्धुलीमा पछिल्लो समय एउटा गम्भीर र चिन्ताजनक गतिविधिको रुपमा “मिनी क्यासिनो” सञ्चालन हुने गरेको पाइएको हो।स्थानीय सुरक्षा निकायलाई पटक–पटक सो सम्बन्धमा जानकारी गराउँदा पनि कुनै कारबाही नहुनुले उनीहरुकै संरक्षणमा“मिनी क्यासिनो”सञ्चालन भई रहेको स्थानीयको आशंका छ।
स्रोतका अनुसार अवस्था हेरेर कहिले भिमान,कहिले ठूलो अमाहा,कहिले तल्लो रानीवास र कहिले डकाहा लगायतका आसपासमा “मिनी क्यासिनो”सञ्चालन हुने गरेको छ।दिनको समयमा सामान्य देखिने उक्त स्थान राति ९ बजेपछि पूर्ण रूपमा रूपान्तरण भई जुवाको अड्डामा परिणत हुने गरेको छ।यो क्यासिनो साँझपछि मात्र सञ्चालनमा आउने र रातभरि चल्ने गरेको स्थानीय बताउँछन्।कुनै सामान्य तास वा सानो जुवाको खेल नभई,व्यवस्थित रूपमा क्यासिनो शैलीमा जुवा खेलाइने गरिएको उनीहरुको भनाई छ ।
विभिन्न जिल्लाबाट जुवाडेहरूको ओइरो
यो अवैध क्यासिनोमा सिन्धुली मात्र नभई धनुषा,महोत्तरी,सर्लाही,रौतहट,बारा,उदयपुर र मकवानपुर लगायतका जिल्लाबाट दैनिक रूपमा जुवा खेल्न मानिसहरू यहाँ पुग्ने गर्छन्।अझ चकित पार्ने कुरा के छ भने, जुवा खेल्न आउने व्यक्तिहरूलाई ल्याउन–पु¥याउन गाडीको समेत व्यवस्था क्यासिनो सञ्चालकले नै गर्ने गरेका छन्।यसका साथै खानपिन र अन्य मनोरञ्जनका सामाग्री समेत निःशुल्क उपलब्ध गराइने गरेको आरोप छ।भने जुवाडे ल्याउने लाने सवारीका चालकलाई राम्रो भक्ताको समेत व्यवस्था गर्ने गरिएको स्रोतको दाबी छ ।
“सेटिङ”को जालोः सुरक्षा निकायसम्म जोडिएको आशंका
स्रोतका अनुसार यो क्यासिनो सञ्चालनमा प्रहरीको मिलेमतो रहेको प्रस्ट देखिन्छ।यसबारे ईलाका प्रहरी कार्यालय भिमानका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक राजु के.सी.,जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक लालध्वज सुवेदी सहित बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख एवम डिआइजी दीपक रेग्मीलाई समेत सो विषयमा जानकारी गराइएको छ।तर,यति ठूलो गतिविधि हुँदाहुँदै पनि कुनै किसिमको अनुगमन,छापा वा नियन्त्रणको प्रयास नभएको स्रोतले जनाएको छ।स्रोतका अनुसार जुवा सञ्चालकबाट प्रहरीलाई मासिक नभई साप्ताहिक रूपमा कमिसन रकम बुझाइने गरेको समेत पाइएको छ।
लामो समयदेखि“मिनी क्यासिनो”सञ्चालन गर्दै आएका मानिसहरुले आन्तरीक रुपमा सबै मिलाएर गतिविधिमा संचालन गरि रहेका भएपनि यस पटक भने खुलेआम ठूलो सञ्जाल नै खडा गरेर सञ्चालन गरिरहेका पाइएको हो ।
सुरक्षा घेराः गुण्डा परिचालन
जुवा सञ्चालन हुने क्षेत्र वरिपरि “मिनी क्यासिनो”सञ्चालकहरुले सुरक्षा घेरा तयार गरेर शंकास्पद मानिस देख्नासाथ खोजी निधि गर्ने गरेका समेत पाइएको छ।स्रोतका अनुसार बाहिरी व्यक्तिले जानकारी नपाओस् र कुनै निकायले छापा मार्न नसकोस् भन्ने उद्देश्यले निगरानी टोली खटाइएको हो।यसले गर्दा सामान्य नागरिकहरू डराएर विरोध गर्नसमेत नसक्ने अवस्था सिर्जना भएको छ।
यो “मिनी क्यासिनो”ले स्थानीय समाजमा गम्भीर असर पार्न थालेको छ।विशेषगरी युवा पुस्ता जुवाको लतमा फस्ने जोखिम बढेको छ।केही परिवारमा आर्थिक संकट समेत उत्पन्न भइसकेको स्थानीय बताउँछन्।जुवाका कारण चोरी,झगडा र घरेलु हिंसा जस्ता घटनाहरू बढ्न सक्ने खतरा पनि उत्तिकै रहेको छ।गाउँ समाजको शान्ति र सुरक्षा नै संकटमा पर्न थालेको भन्दै स्थानीय चिन्तित बनेका छन्।
प्रशासन मौन किन ?
यति ठूलो अवैध गतिविधि हुँदाहुँदै पनि स्थानीइ प्रहरी प्रशासन मौन बस्नुले प्रहरी प्रशासन माथि नै प्रश्न उठाएको छ।के साँच्चिकै प्रहरीलाई थाहा छैन ? कि थाहा भएर पनि नजर अन्दाज गरिएको हो ?यदि प्रहरी प्रशासनले चासो नदिने हो भने यस्ता अवैध गतिविधिहरू अझ फैलिने निश्चित छ।यसले राज्यको कानुनी शासनमाथि नै प्रश्न उठाउने देखिन्छ।स्थानीय बासिन्दाले क्यासिनो तत्काल बन्द गराउन र संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्।
सिन्धुलीमा सञ्चालन भइरहेको भनिएको यो “मिनी क्यासिनो”केवल एउटा जुवाको अड्डा मात्र नभई,संगठित अपराध,प्रहरी समेतको मिलेमतो र सामाजिक विकृतिको जटिल जालोको संकेत हो।यदि यसलाई समयमै नियन्त्रण नगरिए,यसले अझ ठूलो सामाजिक र कानुनी संकट निम्त्याउने निश्चित छ।अब प्रश्न केवल एउटै छ, के राज्य यस्ता अवैध गतिविधिहरुलाई कार्बाहीको दायरामा ल्याउँछ की मौन समर्थनमै सीमित रहन्छ ?
यता,सो सम्बन्धमा गोरे भनिने शिवम् लामासंग बुझ्दा पहिला आफुहरुले सामान्य खेल्ने खेलाउने काम गरेको भएपनि लामो समयदेखि त्यस प्रकारका गतिविधिहरुबाट आफुहरु टाढा रहेको दाबी गरे।भने ईलाका प्रहरी कार्यालय भिमानका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक के.सीले प्रहरीलाई सूचना तथा खबर आउना साथ सम्बन्धी क्षेत्रमा खटिएको भएपनि कुनै प्रकारको गतिविधिहरु नभेटिएको बरु प्रहरी संगठनलाई बद्नाम गराउने काम भएको बताए ।
त्यस्तै,सर्लाहीका ललन महत्तो सहितका मानिसहरुले सर्लाहीका विभिन्न स्थानमा र मकवानपुरको फापरबारीमा समेत “मिनी क्यासिनो”सञ्चालन भई रहेको पाइएको छ।केही दिन पहिला पक्राउ परेका महत्तोले सर्लाहीमा फेरी आफ्नो धन्दा सुरु गरेका छन् भने मकवानपुरको फापरबारीमा खुलेआम रुपमा “मिनी क्यासिनो”सञ्चालन भई रहेको स्रोतको दाबी छ ।