Close This

साउनमा रु २० करोडको तरकारी लालबन्दीबाट निकासी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-९ गते   ४६९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समिति द्धारा सञ्चालीत लालबन्दी बजारबाट एक महिनामा रु २० करोड बढीको तरकारी निर्यात भएको छ । कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीद्धारा सञ्चालित लालबन्दी बजारले साउन महिनामा मात्र रु २० करोड २ लाख १ हजार ७ सय ५० को तरकारी निर्यात गरेको हो ।

कृृषि थोक बजार व्यवस्थापन समितिका अनुसार साउन महिनामा  सबैभन्दा धेरै रु ३ करोड ७० लाख ४० हजार २ सय ५० को परवल मात्रै निकासी भएको छ । परवलपछि लौका रु ३ करोड ५९ लाख ९९ हजार २ सय ५० कोे निर्यात भएको छ ।

त्यसैगरी, रु २ करोड २८ लाख ७३ हजार ५ सयको बोडी, रु १ करोड ८७ लाख ८६ हजारको गोलभेँडा, रु १ करोड १५ लाख ५० हजारको हरियो खुर्सानी, रु १ करोड ५५ लाख ३४ हजार ५ सयको काक्रो निर्यात भएको समितिले जनाएको छ ।

लालबन्दी बजारमा किसानहरुले ल्याएर बिक्री गर्ने तरकारी काठमाण्डौं, पोखरा, नारायणघाट, हेटौंडा,बुटबल,बिराटनगर,धरान लगायतका देशका २० भन्दा धेरै  विभिन्न सहरहरुमा निर्यात हुने गरेको छ । मधेश प्रदेशकै प्रसिद्ध लालबन्दी तरकारी बजारमा सर्लाही र महोत्तरीका किसानहरुले उत्पादन गरेको तरकारी विक्रि वितरणका लागि ल्याउने गरेका कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष तोरण बहादुर मगरले जानकारी दिनु भयो । उहाँका अनुसार लालबन्दीबाट मौसमअनुसार गोलभेँडा,परवल,सिमी,बोडी,लौका,हरियो खुर्सानी, काक्रोलगायतका तरकारी निर्यात हुने गरेका छन् । जिल्लाका किसानहरुले समयअनुसार उत्पादन गरेको तरकारी विक्रि वितरणबाट किसानहरुले राम्रो आम्दानी गर्ने गरेका किसान राम पुकार महतोले बताउनु भयो ।

तर, किसानहरुले पछिल्लो समय विषादी र मलखाद महँगो भएको र सो अनुसार तरकारीको मुल्य नपाएको गुनासो गर्दै आएका छन् । किसानहरुले उत्पादन गरेको कृषि जन्य वस्तुमा बिचौलिया हाबी हुँदा किसानहरु मारमा परेका छन् । खेतबारीमा काम गर्ने कामदारको ज्याला पनि बढेको छ । यसअघि असार महिनामा पनि लालबन्दी तरकारी बजारबाट रु २० करोड २३ लाख १७ हजार ५ को तरकारी निर्यात भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech