Close This

सर्लाही क्षेत्र नम्बर १ मा देवकोटाको विकल्प छैन,गठबन्धन विरुद्ध देवकोटा नै भारी रहेको दाबी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१७ गते   १४५० पटक हेरिएको

नेकपा(एमाले)का मधेश प्रदेश कमिटी सदस्य एवम् ईश्वरपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख मनोज कुमार देवकाटा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उठ्ने विषयमा चर्चा सुरु भएको छ । आगामी मंसीर ४ गते हुने प्रतिनिभि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा संघीय संसदमा देवकोटाको नाम चर्चामा आउन थालेको हो ।
२०७४ सालको स्थानीय निकायको निर्वाचनमा ईश्वरपुर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनु भएका नेता देवकोटा ०७९ बैशाख ३० गते भएको निर्वाचनमा भने पराजित हुनुभएको थियो । नगर प्रमुख हुँदै देखि देवकोटाको प्रतिनिधि सभा सदस्यमा चर्चा चलेको थियो । तर पनि उहाँले पुनः एक कार्यकाल नगर प्रमुख मै ईच्छा देखाउनुभएकोले पार्टीले नगर प्रमुखको टिकट दिएको भएपनि समय परिस्थितिका कारण नतिजा आफ्नो पक्षमा आएन ।
नगर प्रमुखमा पराजित भएपनि उहाँ पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि योग्य हुनुभएकोले उहाँलाई संघीय संसदमै उठाउनुपर्ने कार्यकर्ताहरुले माग रहेको नेता देवकोटा निकटका एमाले नेताहरुले बताएका छन् । पार्टीको जिल्ला अध्यक्ष समेत भईसक्नुभएका नेता देवकोटा साविक भक्तिपुर गाविसका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ तत्कालीन गाविसको उपाध्यक्ष समेत भईसक्नु भएको थियो ।
नेता देवकोटाको चर्चा संघीय संसदका लागि हुने हरेक पटकको आम चुनावमा हुने गरेको छ । २०७० मा भएको चुनावमा पनि संघीय संसदमा नेता देवकोटाकै चर्चा थियो तर केन्द्रले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई टिकट दिएर यहाँबाट चुनावमा उठायो । २०७४ मा उहाँ नगर प्रमुख भईसक्नुभएको थियो । नत्र देवकोटालाई नै टिकट मिल्न सक्ने थियो । अब अहिले पनि चुनावको मिति घोषणा भएको छ । फेरी उसैगरी प्रतिनिधि सभा सदस्यको रुपमा देवकोटाकै चर्चा चल्न थालेको छ । उहाँको चर्चा सामाजिक सञ्जालमा मात्रै हैन हरेक चोक चौतारा र आम नेता कार्यकर्तामा नै चल्न थालेको उहाँ निकट नेताहरुले बताएका छन् ।
संघीय संसदमा आफू उमेदवार हुने नहुने विषयमा नेता देवकोटा स्वयमले मुख नखोले पनि भित्री रुपमा उहाँ चुनावकै तयारीमा लाग्नुभएको स्रोतले जनाएको छ । स्रोतका अनुसार नेता देवकोटाले टिकटकै लागि केन्द्रीय तहका नेताहरुसँगको भेटघाटलाई तिब्रता दिनुभएको छ । उहाँ निकटका नेताहरुका अनुसार यो पटक सर्लाही क्षेत्र नम्बर १ मा गठबन्धनलाई पराजित गर्न सक्ने र भारी मतले संघीय संसदमा जित्न सक्ने सम्भावना बोकेका एकमात्र नेता देवकोटा नै रहेका एमाले नेताहरुले बताएका छन् ।
उनीहरुका अनुसार सर्लाही क्षेत्र नम्बर १ मा ६ पटक भएको संघीय चुनावमा तीन पटक एमालेले जितेको छ । ‘क्षेत्र नम्बर १ मा तीन पटक एमालेले जितेको थियो । चुनाव जित्नेमा सबै क्षेत्रवासी नेता नै रहेका छन् । बाँकी तीन पटक पार्टीले हार्नुको कारण यहाँका नेतालाई बाईपास गरेर केन्द्र र अन्यत्रबाट नेताहरुलाई ल्याएर चुनावमा उठाउनु हो ।,’ एक नेताले बताए ।
केही दिन अघि सो पार्टीका मधेश प्रदेश उपाध्यक्ष रेवती पन्तले सर्लाही क्षेत्र नम्बर १ मा पार्टीले पठाए आफूले जितेर देखाउने बताउनुभएको छ । त्यस लगतै टिकटका दाबेदार मानिनुभएका देवकोटा निकटहरुले क्षेत्र नम्बर १ मा देवकोटाको विकल्प नभएको बताएका हुन् । नेता देवकोटा इश्वरपुर नगरपालिकाको नगर प्रमुख हुँदा जनताको पक्षमा राम्रो काम गरेका कारण सर्लाही क्षेत्र नम्बर १ मा देवकोटाको विकल्प नभएको दाबी गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech