सिराहाको सीमा क्षेत्रबाट भैरहेको तस्करीको बारेमा सशस्त्र प्रहरी बल मूख्यालयले छिन्नमस्ता बाहिनिका बाहिनिपति शसस्त्र प्रहरी डीआईजीलाई छानविन गर्न निर्देशन दिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाका गणपति शसस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थापाको कमाण्ड कमजोर हुँदा जिल्लाका विभिन्न नाकाबाट हुने चोरी तस्करी बढेको भन्दै सशस्त्र प्रहरी मूख्यालयमा उजुरी परेको र तस्करीको गाडीले भारतीय सुरक्षा बलका एसएसबीका एक जवानको मृत्यु भएको विषयलाई लिएर सशस्त्र प्रहरी मूख्यालयले तुरुन्तै छानविन गर्न निर्देशन दिएको छ ।
सिराहा नगरपालिका २१ लगडिगोठबाट मदिराले भरिएको स्कार्पियो जीप तीव्रगतिमा भारतको जोगिया हुँदै जयनगरतर्फ जाँदै गर्दा भारतको मधुवती जिल्ला दलनीया प्रहरी चौकी अन्तर्गत जोगिया गाउँ प्रवेश गरेको उक्त जीपलाई भारतीय सशस्त्र सीमा बलका हेड कन्सटेबल देवराज शर्माले रोक्न खोज्दालाई उनलाई ठक्कर दिएर भागेको थियो । शर्मालाई उपचारका लागि जयनगर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
शर्मा मधुबनी जिल्लाको राजनगर राज कम्प्लेक्समा रहेको १८ औं बाहिनी मुख्यालय राजनगर अन्तर्गत आराहा बीओपीमा हेड कन्सटेबल पदमा कार्यरत थिए । सो विषयमा एसएसबीले सशस्त्र प्रहरीलाई जानकारी गराएको थियो ।
सिराहाको नरगी,कुसण्डि,बरियारपट्टि,औरही, चतरी,पटेर्बा,मार्डर,कल्याणपुर लगायतका नाकाबाट दिउँंसै तस्करी हुने गरेको भन्दै मूख्यालयमा उजुरी परेको थियो । सो उजुरीको छानविन गरिरहेका बेला सशस्त्र प्रहरीले सीमा सुरक्षामा बद्मासी गरेको र त्यसक्रममा तस्करको गाडीले भारतीय सुरक्षा अधिकारीलाई ठक्कर दिई मृत्यु समेत भएको विषयमा अर्को उजुरी परेपछि शसस्त्र प्रहरी छिन्नतस्ता बाहिनि मधेश प्रदेशका बाहिनी पति डीआईजी गणेश बहादुर ठाडा मगरलाई छानविन समिति गठन गर्न निर्देशन दिएको हो ।
मूख्यालय आएका ठाडामगर शुक्रबार नै आफ्नो कार्यालय फर्किसकेका छन् । उनी डेंगो लागेर उपचारका लागि काठमाडौं आएको भएपनि सिराहाका शसस्त्र प्रहरी उपरीक्षक थापाले गरेको गल्तीका कारण उनी तुरुन्तै फर्केको स्रोतको दावी छ । तर डिआईजी ठाडा मगर डेँगो लागेर आराम गरि रहेका छन् । तस्करीका लागि सशस्त्रका उपरीक्षक थापा आफै सहजीकरण गर्न तल्लिन भएको र उनले नै घुमुवामार्फत तस्करीको लाइन खुलाएको भन्दै सशस्त्र प्रहरी मूख्यालयमा समेत उजुरी परेको थियो ।
भारतीय बजारबाट लत्ताकपडा,सुर्तीजन्य पदार्थ,हार्डवयेर,किराना सामान नेपालतर्फ तस्करी भइरहेको छ भने नेपालबाट चाइनिज स्याउ,सुपारी,ढुंगा,गिटी वालुवा समेत भारततर्फ तस्करी भएको छ ।
सिराहाको माडर,लगडिगोठ,बुधौरा,ठाढी, अभयनगर,कुसण्डी,झाझपट्टी,नरगी, बरियारपट्टी नाका मदिरा तस्करका लागि भूःस्वर्ग हो। यी नाका पछिल्लो समय मदिरा तस्करीको मुख्य केन्द्र बनेको छ। नेपालका सुरक्षाकर्मीसँगको सेटिङमा नेपाली बजारबाट मदिरा सीमावर्ती बजारमा भण्डारण गरेर अनुकूल समयमा सीमा पारी भारतीय शहर पुर्याउन वारिपारिका तस्करको संगठित सञ्जाल रहेको छ ।
सिराहाको माडर,कुसण्डी,अभयनगर, बरियारपट्टी बजारमा मदिराको सकली कार्टुन (मदिरा उद्योगबाट सिल भएर आएको) फ्याँकेर मदिराका बोतल अर्को कार्टुनमा प्याक गरी दिउसै बोरामा प्याक गरिन्छ । पारी ड्यूटीमा रहेका एसएसवीहरू ओझेल परेपछि धमाधम मदिराको कार्टुनले भरिएका बोरा पारी पुर्याइन्छ ।
सिराहाको सीमावर्ती क्षेत्रबाट भारततर्फ खुलेआम मदिरा तस्करी हुँदै आएपनि चेकजाँचका लागि सीमा क्षेत्रमा रहेका सशस्त्र र नेपाल प्रहरी देखेर पनि नदेखेझैं गर्दै आएका छन् । इलाका प्रहरी कार्यालय माडरभन्दा ५ सय मिटर पूर्व लगडीगोठ जाने सडकको उत्तरपट्टि खुला ठाउँमै मदिराका बोतल नयाँ कार्टुनमा प्याक गरेर बोरामा भरिररहेको दृश्य त्यहाँका लागि समान्य भएको एक स्थानीयले बताएका छन् ।