सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको छ।लामो समयदेखि निर्माण कार्य अवरुद्ध रहेको राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया नयाँ चरणमा प्रवेश गरेपछि निर्माण कार्यले गतिलिने विश्वस लिईएको छ ।यसअघि निर्माणको जिम्मेवारी पाएको कम्पनीसँगको सम्झौता रद्द भएपछि अन्योलमा परेको आयोजनाले सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणका लागि नयाँ ठेकेदार छनोट प्रक्रिया अघि बढाएको हो ।
आयोजनाले नयाँ ठेक्काका लागि प्राप्त प्राविधिक प्रस्तावहरूको मूल्यांकन सम्पन्न गर्दै योग्य कम्पनीहरूको आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको आयोजनाले जनाएको छ।प्रारम्भिक प्रतिस्पर्धामा सहभागी छ वटा कम्पनीमध्ये तीन वटा चिनियाँ कम्पनी मात्र प्राविधिक मूल्यांकनमा सफल भएका छन् ।
आयोजनाले असोज २७ गते सार्वजनिक गरेको सूचना अनुसार प्राविधिक मूल्यांकनमा सफल कम्पनीहरूको आर्थिक प्रस्ताव आगामी कात्तिक १६ गते खोलिने छ।यससँगै लामो समयदेखि अनिश्चित बनेको आयोजनाको बाँकी निर्माण कार्य अघि बढ्ने अपेक्षा गरिएको स्थानीले बताएका छन् ।
सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणका लागि आव्हान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रमा छ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए।ती प्रस्तावको प्राविधिक परीक्षण तथा मूल्यांकन गर्दा आधा कम्पनी मात्र निर्धारित मापदण्ड पूरा गर्न सफल भएका आयोजनाले जनाएको छ ।
प्राविधिक रूपमा योग्य ठहरिने कम्पनीहरूमा चीनको बेइजिङस्थित मेसर्स चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन,मेसर्स एन्नेङ–आरसीसी जेभी र मेसर्स सिनोहाइड्रो कर्पोरेसन लिमिटेड रहेका छन् ।अब यी तीन वटा कम्पनीबीच आर्थिक प्रतिस्पर्धा हुनेछ।प्राविधिक परीक्षणमा असफल भएका बाँकी तीन वटा कम्पनीको आर्थिक प्रस्ताव भने यस चरणमा खोलिने छैन ।
आयोजनाका अनुसार छनोटमा परेका कम्पनीहरूको आर्थिक प्रस्ताव कात्तिक १६ गते दिउँसो १ बजे सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयमा खोलिने छ ।यसअघि आयोजनाले २०२६ जुन ८ मा सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणाली मार्फत नयाँ बोलपत्र आव्हान गरेको थियो।सोही प्रक्रिया अन्तर्गत प्राप्त प्रस्तावहरूको मूल्यांकनपछि आर्थिक प्रतिस्पर्धामा सहभागी हुने कम्पनीहरूको टुंगो लागेको हो ।
आयोजनाको निर्माण कार्य यसअघिको ठेकेदारसँग भएको करार सम्झौता रद्द भएपछि अवरुद्ध भएको थियो।करिब १० महिनाअघि तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङले ठेकेदारको कार्य सम्पादन सन्तोषजनक नभएको आधारमा ठेक्का सम्झौता तोड्ने निर्णय गरेका थिए ।उक्त निर्णयपछि नयाँ ठेक्का व्यवस्थापन नहुँदा आयोजनाको निर्माण कार्य लामो समयसम्म ठप्प रहेको थियो।राष्ट्रिय गौरवको आयोजनामा देखिएको यस्तो अवरोधले बाँकी निर्माण कार्य सम्पन्न गर्ने प्रक्रियालाई अनिश्चित बनाएको थियो ।