Close This

एन्टिस्नेक भेनम तथा अन्य बायोमेडिकल प्रयोगशाला निर्माणको काम सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२९ गते   १७८ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा  एन्टिस्नेक भेनम तथा अन्य बायोमेडिकल प्रयोगशाला निर्माण गर्न आयोजनाको काम सुरु भएको छ । राष्ट्रिय स्वास्थ्य  तथा अनुसन्धान परिषद द्वारा जिल्लाको लालबन्दीमा संचालित एन्टिभेनम प्रोडक्सन  एण्ड रिसर्च सेन्टरको आयोजनाको काम सुरु भएको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद र राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषदको सन् २०२२ मार्च १० को सम्झौता अनुसार दुबै संस्थाको साझेदारीमा एन्टीस्नेक भेनम तथा अन्य बायोमेडिकल प्रयोगशाला निर्माण गरिने झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले जानकारी दिनु भयो । उहाँका अनुसार सो सम्बन्धि अध्यायन अनुसन्धान गर्ने समझदारी भएको र सोही प्रायोजनका लागि दुबै संस्थाको संयुक्त कार्यालय स्थापना गरि एन्टीभेनम प्रोडक्सन एण्ड रिसर्च सेन्टर नेपालको लालबन्दीमा काम सुरु गर्ने  निर्णय भएको हो ।
एन्टिस्नेक भेनम तथा अन्य बायोमेडिकल प्रयोगशालामा विभिन्न अध्यायन अनुसन्धानका लागि विभिन्न प्राविधिक सहयोगको आवश्यक्ता पर्ने हुँदा उक्त प्राविधिक सहयोग तथा सहकार्य नेपाल स्वास्थ्य अनुसन्धान परिषदले राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषदलाई गर्ने र लालबन्दी नगरपालिकाले उक्त कार्यको लागि आयोजनाको हरेक क्रियाकलापमा समन्वय  र सहकार्य गर्ने समेत निर्णय गरिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले बताउनु भयो ।उहाँका अनुसार सो बाहेक यस क्षेत्रमा फैलिएका रोगहरुको बारेमा समेत अध्यायन तथा अनुसन्धानमूलक कार्यक्रमहरु अगाडी बढाउने र आवश्यकता अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको भ्रमण गरि अनुसन्धानमूलक कार्यहरु अगाडी बढाउने निर्णय भएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरि आगाडी बढ्ने निर्णय गरिएको राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषदका निर्देशक उमेश कुमार बरालले जानकारी दिनुभयो । राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषदका  अध्यक्ष रेवती पन्त,नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा.प्रदिप ज्ञावली,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा.गुणनिधी शर्मा,अनुसन्धान अधिकृत डा.सुमन पन्त लगायतको सहभागीतामा कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech