म्यादी प्रहरीका लागि सर्लाहीमा करिब ९ हजारको आवेदन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-७ गते   १३९३ पटक हेरिएको

मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरुको निर्वाचनको लागि विशेष सुरक्षार्थ छोटो समयका लागि लिइने म्यादी प्रहरी भर्नाका लागि सर्लाहीमा ठूलो संख्यामा आवेदन परेको छ । जिल्लामा मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरुको निर्वाचनको लागि विशेष सुरक्षार्थ छोटो समयका लागि लिइने म्यादी प्रहरी भर्नाका लागि ८ हजार ७ सय ५३ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आवेदन मध्य  ७ हजार १ सय ६९ पुरुष र १ हजार ५ सय ८४ महिलाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रवीण पोखरेलले जानकारी दिए । उनका अनुसार मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरुको निर्वाचनको लागि विशेष सुरक्षार्थ छोटो समयका लागि लिइने म्यादी प्रहरी भर्नाका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीले गत भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त आह्वान गरेको थियो ।
म्यादी प्रहरीको स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा असोज ९ गतेदेखि असोज १४ गतेसम्म जिल्ला प्रहरी कार्यालय सर्लाही नजिकै रहेको कबड हलमा सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । म्यादी प्रहरीको अन्तिम नतिजा असोज २५ गते प्रकाशन हुने प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेलले बताए ।
प्रहरी उपरिक्षक पोखरेलका अनुसार जिल्लामा करिव ३ हजार म्यादी प्रहरी चाहिने भएपनि जिल्लागत रुपमा कति म्यादी प्रहरी राख्ने ?भन्ने तय नभइसकेको प्रहरी उपरिक्षक पोख्रेलले बताए । यस पटक गत वैशाख ३० मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा खटिएका म्यादी प्रहरी अनि पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता दिइने छ । स्थानीय निकायको निर्वाचनमा जिल्लामा २ हजार ९ सय ३७ म्यादी प्रहरी भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
परीक्षामा उत्तीर्ण म्यादी प्रहरीले सुरक्षा व्यवहारसम्बन्धी तालिम लिएपछि नेपाल प्रहरीको जवान सरह तलब, पोसाक र राशन पाउने गरी कार्यक्षेत्रमा खटिनुपर्ने कार्यालयले जनाएको छ । सर्लाहीमा ४वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech