सर्लाहीको बलरा नाकाबाट कसरी छिर्‍यो ४९ हजार किलो अवैध चिनी, क-कसको हात छ ?

1.5k Shares

सर्लाहीको बलरा नाकाबाट ठूलो मात्रा तस्करी हुने गरेको पाइएको छ । छिमेकी देश भारतसँग खुला सिमाना रहेको साथै सीमा सुरक्षामा खटिने केही सुरक्षाकर्मीहरुको मिलेमतोमा जिल्लाका सीमा नाकाहरुबाट ठूलो मात्रामा तस्करी हुने गरेको पाइएको हो । 

सर्लाहीको हरिवन नगरपालिका १० स्थित नयाँ रोडबाट प्रहरीले ठुलो मात्रामा भन्सार छलीको चिनीसहित २ वटा ट्रक नियन्त्रणमा लिएको थियो । सो ट्रकमा आएको चिनीको अनुसन्धान गर्ने क्रममा बलरा नाकाबाट केही सुरक्षाकर्मीहरुको मिलेमतोमा ठूलो मात्रामा तस्करी हुने गरेको पाइएको हो ।

सो नाकामा शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) मधुवनी र सीमा प्रहरी चौकी बलरा रहेको भएपनि केही सुरक्षाकर्मीहरुकै विशेष सहयोगमा भारतबाट २ वटा ट्रकमा ९ सय ८० बोरा चिनी भन्सार छलेर नेपाल भित्रिएको छ । 

ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा प्रदेश २–०३–००१ ख ६५८५ नम्बरको ट्रकमा ५० किलो दरका ५ सय बोरा चिनी र ना. ७ ख. ६१४५ नम्बरको ट्रकमा ४ स ८० बोरा गरी कुल ४९ हजार किलो भन्सार छलीको चिनी बरामद गरेको थियो ।

बरामद भएको चिनी प्रिया ट्रेड जनरल अर्डर सप्लार्यस मलंगवाको १९४ र १९५ नम्बरको अनलाइन बिलमा सोना मन्सुली चामल उल्लेख गरिएको पाइएको थियो । चामलको बिल काटेर अवैध तरिकाबाट नेपाल भित्रिएको चिनी ओसार्ने दुई वटै ट्रक बरहथवाका एक व्यापारीको रहेको र १ ट्रक चिनी बरहथवाकै ट्रक साहुको र अर्काे १ ट्रक चिनी हरिवनका एक व्यापारीको रहेको पाइएको छ ।

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु के भन्छन् ?

सीमा प्रहरी चौकी बलराका प्रहरी प्रमुख वरिष्ठ सई मोहनमणी कटुवालले चिनी कहाँबाट छिरेको आफूहरुलाई थाहा नभएको मध्यान्हलाई बताए । तर सीमा प्रहरी चौकी बलरा नेपाल भारत वारपार गर्ने बाटैमा छ । उनको यो अभिव्यक्तिले पनि प्रहरीको मिलेमतो रहेको अनुमान गर्न सकिन्छ ।

शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) छतौनाका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी निरीक्षक मोहनकृष्ण सापकोटा घर बिदामा गएका कारण उनीसँग  कुरा हुन सकेन । तथापी पनि व्यापारीहरुले सिधै भारतबाट नभई नेपालमै स्टक गरेको सामान ओसार पसार गरेको भन्ने सुनिएको शसस्त्र प्रहरी स्रोतले जनाएको छ ।

सरोकारवाला निकायको भनाइ के छ ?

त्यस्तै शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका शसस्त्र प्रहरी नायव उपरिक्षक बलराम प्रसाईंले बलरा नाका नलेखिदिन भन्दै सञ्चारकर्मीहरुलाई फोन गरेका छन् । उनले आफूले चिनेको भाई बलरामा रहेकाले बलरा नाका नलेखि बेवारिसे अवस्थामा लेखिदिन भनेका हुन् । 

साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले २ वटा ट्रक र ४९ हजार केजी अवैध चिनी भित्रिएको विषयमा कुनै पनि सुरक्षाकर्मीको सहयोग नरहेको  बताए । तर बलरा नाकादेखि करिब ४० किलोमिटर पर रहेको पुर्वपश्चीम लोकमार्गसम्म आउँदा बाटामा रहेका नेपाल प्रहरी र  शसस्त्र प्रहरीका युनिटहरुलाई थाहै थिएन कि थाहा पाएर पनि मिलेमतोमा छोडियो । यो अनुसन्धानको विषय हो ।प्रहरी नायव उपरीक्षक यादवले आफ्नो प्रहरी पानीमाथि ओभानो रहेको बताएपनि उनलाई पनि कमिसन आउने गरेको स्रोतको दाबी छ । 

चिनीको विषयमा भन्सारमा के हुँदैछ ?

जिल्ला भन्सार कार्यालय सर्लाहीका कार्यालय प्रमुख मुरारीप्रसाद काफ्लेले चिनीको मूल्यांकन भइसकेको र चाँडै लिलामी निकाल्ने बताए । उनले २ वटै ट्रक र ९ सय ८० बोरा चिनी अर्थात ४९ हजार किलो चिनीको अनुमानीत लागत समेत निकालिएको र अब चाँडै लिलामी प्रक्रियामा लैजाने बताए ।

२ वटा ट्रकमा गरी कुल ४९ हजार किलो चिनीको अन्दाजी रु.१६ लाख ८० हजार  र प्रदेश २–०३–००१ ख ६५८५ नम्बरको ट्रक अन्दाजी मुल्य रु.८० लाख  र ना. ७ ख. ६१४५ नम्बरको ट्रकको प्रति ट्रक अन्दाजी मुल्य रु.८० लाख गरी कुल रु १ करोड ९४ लाख ३० हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत एवं प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक यादवले बताए । 

यता त्यो २ वटै ट्रक र अवैधरुपमा नेपाल भित्रिएको चिनी हरिवनका व्यापारीको हो भनी ट्रकका चालकले भनेको भए प्रहरीले नियन्त्रणमा नलिने बुझिन्छ । किनकी हरिवनका व्यापारीले शसस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मधेश प्रदेशका शसस्त्र प्रहरी डिआईजी गणेश बहादुर ठाडा मगरलाई मासिक रु १ लाख, शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनिँयालाई मासिक रु १ लाख २० हजार, वेशपतिहरु र बिओपी पतिहरुलाई मासिक रु १५ हजार देखि २५ हजार सम्म र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुखको नाममा पनि मासिक रु ५० हजार र ईलाका प्रहरी कार्यालय र  प्रहरी चौकीहरुलाई मासिक रु ५ हजारदेखि १५ हजारसम्म अवैध काम गर्न सहजता प्रदान गरिदिए वापत कमिसन दिने गरेको ती व्यापारी आफैंले बताएका छन् ।

सो ट्रकका चालकले हरिवनका ती व्यापारीको नाम नभनी बरहथवाका व्यापारीको सामान हो भनेपछि ईलाका प्रहरी कार्यालय हरिवनको गस्ती टोलीले बिहीबार राति करिब ११ बजे २ वटै ट्रक र चिनी नियन्त्रणमा लिएको थियो । बिहीबार राति नियन्त्रणमा लिएको ट्रक र चिनी शुक्रबार दिउँसोसम्म डिल नमिलेपछि भन्सार बुझाउन लगिएको प्रहरी स्रोतले जनाएको छ । यति ठुलो मात्रामा चिनी कहाँ लैजान भन्सार छलेर भित्र्याएको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेकोे सर्लाही प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार