सर्लाहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना,अन्य ३ कार्यालय पनि चाँडै स्थापना गरिने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-१८ गते   ५३५ पटक हेरिएको

सर्लाहीमा मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 
सर्लाहीमा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला अदालत सर्लाहीका न्यायाधीश कविप्रसाद न्यौपानेले पाएका छन् । न्यौपानेले क्षेत्र २ को निर्वाचन अधिकृतको जिम्मेवारीसमेत सम्हाल्ने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । 
यस्तै, क्षेत्र नं. १ मा प्रदीपराज उपाध्याय, क्षेत्र नं. ३ मा वशिष्ठकुमार घिमिरे र क्षेत्र नं. ४ मा शम्भुप्रसाद बरालले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् । यो पटक जिल्लाको चार वटा निर्वाचन क्षेत्रका लागि सम्वन्धित निर्वाचन क्षेत्रमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकृत निर्मल पाेख्रेलले बताए ।  उनमा अनुसार क्षेत्र नं. २ बाहेक बाँकी तीन वटा निर्वाचन क्षेत्रमा पनि तत्काल निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनको काम अघि बढाइने छ ।
निर्वाचनका लागि सर्लाहीमा ३ सय १२ मतदानस्थल अन्तर्गत ६ सय मतदान केन्द्र कायम गरिएको छ । मतदाता ४ लाख ७९ हजार ३८ जना पुगेका छन् । 
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत न्यौपाने, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, भैरवी दल गण पाँचकुमारीका गणपति अभिषेक कार्की, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर १०   हे.क्वा गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान उप निर्देशक चन्दन झालगायतको उपस्थिति थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech