सर्लाहीको लालबन्दी नगरपालिका १२, पत्थरकोटका एक दम्पतीको लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएकाे छ ।
लालबन्दी नगरपालिका १२ पत्थरकाेट स्थित स्याङबो डाँडाका २७ वर्षीय बुद्धिमान योन्जन र उनकी श्रीमती अन्दाजी २६ वर्षीया शर्मिला तामाङको मेमेपोखरी घुमेर फर्किने क्रममा
लेक लागेर असोज १९ गते दसैंको टीकाको राति मृत्यु भएको थियो । मृतक योन्जन दम्पत्तिको शव साेमबार सर्लाही ल्याएर अन्त्यष्टी गरिएको छ ।
दोर्दी र मर्स्याङ्दी गाउँपालिकाको सीमा क्षेत्रमा करिब ३ हजार ९ सय मिटर उचाइको च्यार्बोाा लेक लागेन उनिहरुकाे ज्यान गएकाे लमजुङ प्रहरीले जनाएको छ । उनिहरुसंगै गएका बेंसीसहर नगरपालिका–१०, साँधुका अन्दाजी १८ वर्षीय करण तामाङको मेडिकल कलेज भरतपुरको आईसीयुमा उपचार भइरहेको छ । दसैंको समयमा ऐतिहासिक पर्यटकीय मेमेपोखरी गएर फर्किने क्रममा लेकाली क्षेत्रमै दम्पत्तिको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलका अनुसार दसैंको टीकाको दिन बुधबार मेमेपोखरीबाट फर्किंदै गर्दा बाटोमा लेक लाग्ने समस्या भएपछि योञ्जन गम्भीर बिरामी परेका थिए । अत्यधिक पानी परिरहेको अवस्थामा गम्भीर बिरामी श्रीमानलाई उद्धारका लागि हारगुहार गर्दै मोबाइल नेटवर्क खोज्दै हिँडेकी श्रीमती तामाङकाे पनि त्यहीँ ज्यान गएकाे हाे ।
प्रहरीका अनुसार करिब ४ हजार मिटर आसपास जुम्रोडाँडा क्षेत्रमा ढलेका योन्जन भोलिपल्ट बिहीबार मृत भेटिएका थिए । श्रीमती तामाङ भने हराईरहेकी थिईन् । प्रहरी, सेना र स्थानीयले खोज्ने क्रममा श्रीमानको शव भएको ठाउँबाट करीब १५ मिनेट तल शनिबार मध्याह्नमा श्रीमतीको शव फेला परेको डीएसपी श्रीमलले बताए । लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाको सिरानमा पर्ने मेमेपोखरी पुग्न लमजुङ सदरमुकाम बेंसीसहरबाट कम्तीमा ३ दिन लाग्छ ।मेमेपोखरीबाट करिब साढे १ दिन हिँडेपछि आइपुग्ने ठाउँमा शव फेला परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले शव निकालेर केही तल ल्याए पनि त्यसपछि ल्याउन नसकिएपछि हेलिकोप्टरबाट ल्याइएको प्रहरीले जनाएको छ ।
मेमेपोखरी घुम्न शर्मिलाका बुबा,शर्मिलाका आफ्नै भाइ र काकाको छोरा पनि गएका थिए । करिब साढे १ दिनको बाटो पार गर्ने क्रममा ३ जनाले अगाडि बास खोज्न जाने सल्लाह भएपछि श्रीमान्–श्रीमती पछि रहेर विस्तारै आउँदै थिए ।
त्यही बेला श्रीमानलाई लेक लागेपछि यसबारे सूचना दिन र हारगुहार गर्न डाँडाकाँडा खोज्दै हिँडेर मोबाइलमा सम्पर्क गर्न गएकी श्रीमती रातको समय आफै अल्मलिएपछि सम्पर्कविहीन बनेकी थिईन् । असोज १६ गते लेकतर्फ गएका उनीहरु नवमीका दिन मेमेपोखरी पुगेको र दशमीको दिन फर्किंदै थिए ।
योन्जन परिवारमा छोटो अवधिमै ५ जनाको मृत्यु भइसकेको लालबन्दी नगरपालिका १२, का वडाध्यक्ष दुर्गाबहादुर आलेले जानकारी दिए।