तलब नपाएपछि हरिपुर्वाका शिक्षकहरु आन्दोलित

1.5k Shares

सर्लाहीको हरिपूर्वा नगरपालिकाका शिक्षकहरु र कर्माचारीहरुले तलब माग गर्दै बिहीबारदेखि आन्दोलन सुरु गरेका छन् । नगर सभाले बजेट पारित नगर्दा हरिपूर्वाका शिक्षकहरु तथा कर्मचारीहरुले दशैँमा समेत तलब खान नपाएको भन्दै आन्दोलन सुरु गरेका हुन ।
चालु आर्थिक वर्ष २०७९÷०८० को सुरुवात देखि नै तलब नपाएपछि मारमा परेका शिक्षकहरुका साथै कर्माचारीहरुले तलब भक्ता उपलब्ध गराउन भन्दै असोज २४ गते नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए ।
आफूहरुको मागमा कुनै सुनुवाई नभएपछि उनिहरुले बिहीबारबाट आन्दोलन सुरु गरेका हुन् । उनीहरुले बिहीबार पहिलो दिन हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार पेन डाउन गर्ने र आगामी ३० गते आइतबारदेखि अनिश्चितकाल सम्पूर्ण विद्यालय बन्द गरी नगरपालिका कार्यालयमा धर्ना दिने आन्दोलित शिक्षकहरुले बताएका छन् । तलब, भत्ता नपाउँदा दशैँ खल्लो भएको र तीहार तथा छठ पर्वमा पनि उस्तै अवस्था आउने देखिएको भन्दै शिक्षकहरु तथा कर्माचारीहरुले आन्दोलन सुरु गरेको हरिपुवा नगरपालिका ९ स्थित रहेको राम जानकी माध्यमिक विद्यालयका  प्रधानाध्यापक चितरञ्जन सिंहले बताए ।“यो अवस्थामा शिक्षकहरुले कसरी घर व्यवहार धान्नु ? हामीहरु माथि ठूलो अन्याय भएको छ ।”उनले भने 
राजनीतिक सहमती जुट्न नसक्दा हरिपूर्वा नगरपालिकामा नगर सभा हुन सकेको छैन् । नगर सभा हुन नसक्दा असोज बित्नै लाग्दा समेत आर्थिक वर्ष २०७९÷०८० को बजेट पारित हुन सकेको छैन् ।
शिक्षकहरु तथा कर्मचारीहरुलाई तलब खुवाउनका लागि बिहीबार दिउँसो कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मलंगवा पुगेर समन्वय गरे पनि नगर सभाबाट बजेट पास नहुञ्जेल तलब,भत्ता खुवाउन नमिल्ने जवाफ आएको हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेले बताए ।
नगर प्रमुख विनोद साह तेली सहितको टोली कोलेनिका गएको र कोलेनिकाले नगर सभा नगरी रकम निकासा हुने कुनै उपाय नरहेको जवाफ दिएको हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । नगर सभाले बजेट अनुमोदन गरेर मात्र बजेट चलाउनु पर्नेमा नगर सभा नै नभएकाले नगरमा आएको बजेट सुत्रमा परिणत हुन नपाउँदा नगरको शिक्षा,स्वास्थ्य,कृषि र पशु शाखाका कर्माचारीहरुले तलब खान नपाएका नगरपालिकाको लेखा प्रमुख राम स्वागारथ महतोले बताए । उनले नगर सभा नभएका कारण नगरको बजेट  नचल्दा आफुले पनि तलब खान नपाएको बताए ।

सम्बन्धित समाचार