सर्लाहीको बसबरीयाबाट प्रहरीले एक ट्रक सहित ४ सय ८० बोरा भन्सार छलीको चिनी बरामद् गरेको छ । बसबरिया गाउँपालिका ३ बाट प्रहरीले कुनै प्रकारको बिल नरहेको ४ सय ८० बोरा चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो ।
बसवरिया गाउँपालिका ३ स्थित भित्री सडक खण्डमा विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले अन्दाजी रु १४ लाख ४० हजार बराबरको चिनीसहित ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले मधेश प्रदेश ०३–००१ ख ७५८८ नम्बरको ट्रकमा कुनै किसिमको बिल नरहेको चिनीसहित ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिए ।
प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोख्रेलका अनुसार रु १४ लाख ४० हजार बराबरको चिनी र ट्रकको अन्दाजी मुल्य रु ३० लाख मूल्यांकन गरी ट्रक, चिनी र चालकलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय सर्लाही बुझाएको छ ।