धार्मिक द्वन्द्व भड्किएपछि महोत्तरीको भंगाहमा कर्फ्यु कायमै,सर्वदलीय सर्वपक्षीय छलफल आव्हान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-११ गते   १२१० पटक हेरिएको

महोत्तरीको भङ्गाहा नगरपालिका १ मा धार्मिक सद्भाव भड्कीए पछि  जिल्ला प्रशासन कार्यालय महोत्तरीले सुरु गरेकाे निषेधाज्ञा (कर्फ्यु) कायमै राखेको छ ।
भङ्गाहा नगरपालिका ८ पडरिया बस्तीमा भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासन महाेतरीले पडरिया वरपरका क्षेत्रमा बिहिबार निषेधाज्ञा जारी गरेको र शुक्रबार  पनि जारी रहेकाे महाेतरीका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिए ।
भङ्गाहा नगरपालिका ८ को  पडरिया पश्चिम बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान,उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका १ मा पर्ने बगडाचोक तथा पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म जिल्ला प्रशासन महाेतरीले बिहिबारबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हाे।
 अर्को आदेश जारी नभएसम्म घोषित क्षेत्रभित्र समूहमा हिँडडुल गर्न तथा बाहिरी क्षेत्रबाट सो क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी पहाडीद्वारा जारी गरिएको आदेशमा उल्लेख गरिएको  छ।
बिहीबार दिउँसो पडरियामा ‘हिन्दू सम्राट सेना’ नामक सङ्गठनले निकालेको र्‍यालीको क्रममा भागदौड मच्चिएको थियो। सङ्गठनको र्‍यालीमा अज्ञात व्यक्तिले लुकीछिपी  ढुङ्गा मुढा प्रहार गरेपछि तनाव बढेको स्थानियाले बताएका छन् । घटनालगत्तै पुगेको प्रहरी टोलीले भड्कँदो स्थिति नियन्त्रणमा लिन हवाई फायरसमेत गर्नुपरेको जिल्ला प्रहरी कार्यालय महाेतरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए । उनमा अनुसार अहिले घटनास्थलमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
पडरियाको घटनापछि अवस्था थप जटिल हुन नदिन प्रजिअ पहाडीले जिल्लाका सबै राजनीतिक दल,सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र आम नागरिकसँग अपिल गरेका छन् । भने सर्वदलीय सर्वपक्षीय छलफल पनि बाेलाईएकाे जिल्ला प्रशासन कार्यालय महाेतरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्याैपानेले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech