महोत्तरीको भँगाहा ८ पररिया घटनाका विषयमा ८ बुँदे सहमति,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-११ गते   ८५६ पटक हेरिएको

महोत्तरीको भँगाहा नगरपालिका ८ पररियामा बिहीबार भएको झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच ८ बुँदे सहमति भएको छ । भँगाहा नगरपालिका ८ पररियामा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपमा १५ जना भन्दा धेरै घाइते भएपछि बिहीबार ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय महाेतरीमा शुक्रबार भएको छलफलपछि ८ बुँदे सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।उनका अनुसार जसमा असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न घटनामा सम्बद्ध दुबै पक्षलाई र आम नागरिकलाई आह्वान गर्ने सहमति भएको छ ।
घटनामा भएको धनजनको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिको लागि सिफारिस गर्न टोली गठन गर्ने, घाइतेको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने लगायतकाे सहमति पनि भएको प्रमुख जिल्ला अधिकारी पहाडीले बताए ।
त्यस्तै घटनाको छानबिनका लागि उच्चस्तरीय टोली गठन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने, घटनामा संलग्न दोषी पत्ता लगाई कानुनी प्रक्रिया अघि बढाउने सहमति पनि भएको  महाेतरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्याैपानेले बताए । उनका अनुसार भँगाहा नगरपालिका ८ पररिया क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न  र्‍याली निकाल्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने पनि सहमति भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech