चुनाव प्रचारप्रसारमा हिँडेको स्कारपियोको ठक्करबाट एकजनाको ज्यानगयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१५ गते   ३१० पटक हेरिएको


सर्लाहीको ब्रम्हपुरीमा चुनाव प्रचार प्रसारमा प्रयोग गरिएको भारतिय नम्बरको स्कारपियोको ठक्करबाट एक जनाको ज्यान गएको छ । ब्रम्हपुरी गाउँपालिका ३ भेल्हीमा चुनाव प्रचार प्रसारमा प्रयोग गरिएको बीआर ३० पी ९०८२ नम्वरको भारतिय स्कारपियोले ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ज १० प १३०८ नम्बरको मोटरसाइकलमा सवार भारत सीतामढीका २२ वर्षीय नेक महम्मदको ज्यान गएको छ भने मलंगवा नगरपालिका ९, का १२ वर्षीय असलम सफी गंभिर घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिए । उनका अनुसार मोटरसाईकललाई ठक्कर दिएर भागेको भारतिय नम्बरको स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ । 
स्कारपियोका चालक भने अझै फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।भारतीय सीमा नजिकै पर्ने पूर्व–पश्चिम हुलाकी सडकको सखुअवा र भेल्हीको बीचमा स्कारपियोले ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । स्कापियोको ठक्करबाट ज्यान गएका नेकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ ।
सर्लाही क्षेत्र नं. २ मा नेकपा(माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर प्रतिनिधि सभा सदस्य तर्फ गठबन्धका उम्मेदवार नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवको चुनावी प्रचारप्रसारमा हिँडेको स्कापियो रहेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले बताए । उनले घटनाका सम्वन्धमा थप अनुसन्धान भईरहेको बताए ।
भारतिय नम्बरका कुनै पनि सवारी साधनहरु निर्वाचनको प्रचार प्रसार लगायतका निर्वाचनसंग सम्बन्धीत कुनैपनि क्रियाकलापमा प्रयोग गर्न नपाईने निर्वाचन अनुगमन समितिका संयोजक जीवन पुरीले बताए । तर जिल्लाका सबै उम्मेदवारहरुले चुनाव प्रचार प्रसारमा थोरै धेरै भारतिय नम्बरका सवारी साधनहरुको प्रयोग गरि रहेका छन् । भने जिल्लाका विभिन्न बजारहरुलाई धजापतकाहरुले सजाइएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech