पत्रकार महासंघ पार्टीहरूका संगठनहरूको खेलमैदान

350 Shares

नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संगठन हुनु पर्नेमा राजनीतिगर्ने थलेबन्न थालेको छ।महासंघको मंसिर २८ गते हुने महाधिवेशनका लागि नेपाली कांग्रेस निकट प्रेस युनियन,नेकपा(एमाले)निकट प्रेस चौतारी नेपाल र नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालका उम्मेदवारहरुले महासंघलाई राजनीति गर्ने थलो बनाएका छन् ।
कांग्रेस निकट प्रेस युनियन र एमाले निकट प्रेस चौतारीले गठबन्धन गरेर साझा उम्मेदवारी दर्ता गर्दै गर्दा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका वरिष्ठ उपाअध्यक्ष कमल गिरीको नेतृत्वमा विभिन्न छ संगठनहरूले साझा उम्मेदवारी दर्ता गराएका छन् ।शुक्रबार भएको मनोनयन दर्तामा महासंघको अध्यक्ष पदका लागि प्रेस युनियन र प्रेस चौतारीले  अध्यक्षमा प्रेस चौतारीकी निर्मला शर्मालाई र प्रेस सेन्टर सहित छ संगठनले अध्यक्ष पदका लागि प्रेस सेन्टरका वरिष्ठ उपा अध्यक्ष गिरीलाई अघि सारेको छ ।
प्रेस सेन्टर नेपाल,नेकपा(एकिकृत समाजवादी) निटक समाजवादी प्रेस संगठन,क्रान्तिकारी प्रेस संगठन,जनपत्रकार संगठन,प्रगतिशील पत्रकार संगठन र प्रेस मंच नेपालको संयुक्त प्यानल बनाएर अध्यक्ष पदका लागि गिरीलाई खडा गरिएको छ ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा हालका महासचिव रोशन पुरी,महिला उपाध्यक्षमा गंगा बराल, समावेशी उपाध्यक्ष सुवास साह,महासचिवमा लेखनाथ न्यौपाने,खुला सचिवमा उत्तर बिष्ट, मधेसी सचिवमा सिर्जन झा,महिला सचिवमा सरिता बराईली,दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासी र जनजाति सचिवमा भीषण राई,एसोसिएट सचिवमा विकास कार्की,कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा मणि दाहालसहित सिंगो केन्द्रीय समितिका लागि गिरीको नेतृत्वको प्यानल घोषणा भएको हो।
यता,गठबन्धनले अध्यक्षमा प्रेस चौतारीकी शर्मा,महिला उपाध्यक्षमा नितु पण्डित,कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली र समावेशी सचिवमा सविन प्रियासन,वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द र महासचिवमा रामप्रसाद दाहाललाई खडा गरिएको छ ।यस्तै, सचिवमा रमेश खतिवडा,सोनी शर्मा,प्रकाश धौलाकोटी,बैकुण्ठ पराजुली र अशोक तिवारी रहेका छन्।कोशी,मधेस,कर्णाली र उपत्यकाका अध्यक्ष प्रेस चौतारीले लिने र बागमती, गण्डकी,लुम्बिनी,सुदूरपश्चिम,एसोसिएट र प्रतिष्ठान अध्यक्ष प्रेस युनियनले पाउने सहमति भएको छ।महाधिवेशनको नतिजाले महासंघको आगामी नेतृत्वको दिशा निर्धारण गर्नेछ। यसपटकको निर्वाचन कांग्रेस र एमाले निकट संस्थाहरूबीचको सहकार्य र वामपन्थी समूहहरूको संयुक्त मोर्चाबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
पत्रकारहरू स्वतन्त्र हुनुपर्ने सामान्य मान्यता रहे पनि दल निकट भएका कारण पत्रकारिताको निष्पक्षतामा प्रश्न उठ्दै आएको छ।दलको भ्रातृ संगठनकै हैसियतमा पत्रकारहरूले संस्था बनाएका छन्।यसरी निर्वाचित हुने दल निकटका व्यक्तिले पत्रकारिता क्षेत्रको व्यावसायिक हितमा कम र दलीय आज्ञा बढी मान्ने गरेका देखिएको छ ।यसपालि निष्कृय पत्रकारहरूलाई हटाउनुपर्ने शुद्धीकरण अभियान चलाइएको भएपनि यिनै दल निकट संगठनहरूले यसमा लामो किचलो गरे।जसका कारण जेठमै हुनुपर्ने निर्वाचन सर्दै सर्दै मंसिरमा आई पुगेको छ।सदस्यता विवादका कारण महासंघका तत्कालीन अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएका थिए । 
देशभरि दलमा आवद्ध नरहेका स्वतन्त्र पत्रकारहरू पनि भएपनि नगन्य मात्रामा रहेका उनीहरूको आवाज पत्रकार महासंघमा मुखरित हुन सकेको छैन। जसका कारण प्रेस युनियन,प्रेस चौतारी र प्रेस सेन्टर जस्ता संगठनले महासंघलाई निहित एवम् अमुक दलगत स्वार्थमा उपयोग गर्न खोजेपछि पेशागत सुरक्षा,अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार हितमा काम गर्न महासंघ चुकेको अग्रज पत्रकारहरु बताउँछन् ।

सम्बन्धित समाचार