सर्लाहीको गोडैता नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ । नगरपालिकाले भन्सार छुटमा रु २१ लाख खर्चेर नगरपालिकाकै एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याइएको गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र यादवले जानकारी दिए । उनकाअनुसार गोडैता नगरपालिकामा यसअघि नेपाल रेडक्रस सोसाइटी उपशाखा सिसौटियाको एउटा र अर्को एउटा निजी एम्बुलेन्स गरी २ वटा एम्बुलेन्स संचालनमा रहेका थिए । रेडक्रसको पुरानो एम्बुलेन्स नगरपालिका आफैले मर्मत गरेर संचालन गरिरहेको छ ।
३२ किलोमिटरमा फैलिएको नगरपालिकाभित्र २ वटा पुराना एम्बुलेन्सले मात्रै सेवा दिन नसकिरहेकाले नगरपालिका आफैले एम्बुलेन्स खरिद गरेको नगरपालिकाले जनाएको छ । कोरोना संक्रमणपछि सीमापारीबाट भारतीय एम्बुलेन्स आउन आनाकानी गर्दा झनै समस्या थपिएको स्थानीयले गुनासो गरेका छन् । नगरपालिकाले एम्बुलेन्स खरिद गरेपछि रेडक्रसको र निजी गरि तीनवटा एम्बुलेन्स भएपछि नगरपालिकाबासी खुसी भएका छन् ।