सर्लाहीका निजी स्वास्थ्य संस्थाहरुको बेथितिःबाहिर बोर्डमा सेवा बन्द,भित्रभित्रै बिरामी भर्ना

534 Shares

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बन्द गर्न दिएको निर्देशन अटेर गर्दै सर्लाहीका निजी स्वास्थ्य संस्थाहरुले गोप्य तरिकाले आफ्नो कामलाई निरन्तरता दिएका पाइएको छ।मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको टोलीले स्थलगत अनुगमन गर्दा प्रचलित मापदण्ड पुरा नगरेका निजी स्वास्थ्य संस्थाहरुलाई पत्र दिएर बन्द गराएको थियो ।तर अघिअघि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको टोलीले स्थलगत अनुगमन गर्दै प्रचलितमापदण्ड नपुगेका निजी स्वास्थ्य संस्था बन्द गर्दै पछिपछि लुकीछिपी बिरामी भर्ना गर्दै गरेका पाइएको छ ।
यही चैत १ गते मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले सर्लाही सदरमुकाम मलंगवा सहित सर्लाहीका करिब दुई दर्जन निजी स्वास्थ्य संस्थाहरुको अनुुगमन गरी प्रचलित मापदण्ड नपुगी सञ्चालित निजी स्वास्थ्य संस्थाहरु बन्द गर्न निर्देशन दिएका थिए।तर अहिले बिरामी आएपछि बाहिरिको गेट खोलने र बिरामी भित्र ल्याएर गेटबन्द गर्दै सञ्चालन भई रहेका पाइएको हो।मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले बन्द गर्न भनिएका अधिकांश निजी स्वास्थ्य संस्थाहरु कहीँकतै दर्ता छैनन् भने कतिपय निजी स्वास्थ्य संस्थाहरु नवीकरण गरिएका छैनन् । 
स्वास्थ्य क्षेत्रको सुधारमा मुख्यमन्त्री सिंहको प्रयास सराहनीय भए पनि निजी स्वास्थ्य संस्थाहरुको दर्ता र नवीकरणमा अनेक आलटाल र अनियमिता हुने गरेकाले नियन्त्रण गर्नुपर्ने  स्थानीय जानकारहरु बताउँछन् ।मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले अनुगमन गरेर एक सयभन्दा बढी प्रचलित मापदण्ड नपुगेका निजी स्वास्थ्य संस्थाहरु बन्द गराइएको छ । 
बन्द गराएका निजी स्वास्थ्य संस्थाहरुको निगरानी गर्न र अटेरी गरे पक्राउ गरेर कारवाही गर्न पनि प्रहरीलाई मुख्यमन्त्री सिंहले निर्देशन दिएका भएपनि बिरामी आएको समयमा गेट खोल्ने र अरु बेला बन्द झैँ देखाउने गरिएका कारण प्रहरी प्रशासनले सर्लाहीका कुनै पनि निजी स्वास्थ्य संस्था सञ्चालकहरुलाई नियन्त्रणमा लिएको छैन्।जसका कारण स्वास्थ्य क्षेत्रको बेथिति रोकिएको छैन्भने नागरिकको स्वास्थ्य तथा सम्पती माथिको खेलवाड बढी रहेको छ । स्वास्थ्य संस्था दर्ता भए नभएको मात्रै नभइ,सरकारी अस्पतालमा अनुुगमन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीले काम गरे/नगरेको निगरानी पनि मुख्यमन्त्री सिंह नेर्तत्वको टोलीले गरि रहेको छ ।
सर्लाहीको हरिपुर्वाकी अन्दाजी २५ वर्षीया बबिता कुमारी यादव जनकपुरको मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि हप्तौँसम्म बेहोस हुँदासमेत अस्पतालले बन्धक बनाएको समाचार बाहिरिएपछि मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले प्रदेशभरका निजी स्वास्थ्य संस्थाहरुको अनुगमन अभियान सुरु गरेको मुख्य मन्त्री सिंहको  सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार बन्द गरिएका निजी स्वास्थ्य संस्थाहरुले बाहिरी गेटमा अस्पताल बन्द रहेको सूचना टाँस गरे पनि भित्र बिरामीलाई भर्ना गरी उपचार गरिरहेको पाइएका निजी स्वास्थ्य संस्थाका सञ्चालकहरुलाई मुख्यमन्त्री सिँहले प्रत्यक्ष पुगेर कारबाही समेत सुरु गरेका छन् ।

सम्बन्धित समाचार