मधेश प्रदेशका एक सय ३६ स्थानीय तहहरु मध्य २४ वटा स्थानीय तहहरुले अझै पनि चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेका पाइएको छ।संवैधानिक व्यवस्था अनुसार असार १० भित्र सबै स्थानीय तहहरुले आगामी आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याइसक्नु पर्ने व्यवस्था भए पनि मधेश प्रदेशका एक सय ३६ वटा स्थानीय तहहरुमध्ये एक सय १२ वटा स्थानीय तहहरुले मात्र बजेट सार्वजनिक गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार देशभर सात सय २८वटा स्थानीय तहहरुले बजेट प्रस्तुत गरिरहेका छन् भने २५ वटा तहले अझै बजेट ल्याएका छैनन् ।तीमध्ये २४ वटा स्थानीय तह मधेश प्रदेशका रहेका छन् ।
त्यस मध्ये सप्तरीको राजविराज नगरपालिका,अग्नीसाइर कृष्णासवरण गाउँपालिका,बलान विहुन गाउँपालिका र कल्याणपुर नगरपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न नसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।धनुषाको धनौजी,औरही र जनकनन्दिनी गाउँपालिका सहित क्षीरेश्वरनाथ,नगराइन र कमला नगरपालिका र महोत्तरीको सोनमा गाउँपालिका,सर्लाहीको हरिवन नगरपालिका,चन्द्रनगर र रामनगर गाउँपालिका तथा मलंगवा नगरपालिकाले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेका मन्त्रालयले जनाएको छ ।
त्यस्तै सिराहाको धनगढीमाई र सुखीपुर नगरपालिका,रौतहटको कटहरिया,देवाही गोनाही र फतुवा विजयपुर नगरपालिका सहित यमुनामाई गाउँपालिका,बाराको महागढीमाई नगरपालिका र विश्रामपुर गाउँपालिका तथा पर्साको पकाहा मैनपुर गाउँपालिकाले बजेट सार्वजनिक गर्न सकेका छैनन्।
यी स्थानीय तहहरूमध्ये अधिकांशले कर्मचारी अभाव,स्थायी प्रमुख प्रशासकीय अधिकृत नहुनु, राजनीतिक अस्थिरता तथा आन्तरिक प्रक्रियागत ढिलाइलाई कारण देखाएको मन्त्रालयको भनाइ छ।बजेट अभावका कारण ती स्थानीय तहमा विकास योजना,सेवाप्रवाह र वित्तीय प्रतिबद्धता अनिश्चित बनेको छ ।साथै कर्मचारीहरुले तलब भक्ता खान पाएका छैनन् भने लाभग्राहीहरुले सामाजिक सुरक्षा भक्ता समेत पाउन सकेका छैनन् ।