सवारी चाप नियन्त्रणमा गर्न मलंगवामा एकतर्फी पार्किङ र यातायात सञ्चालन

255 Shares

सर्लाही सदरमुकाम मलंगवा बजार क्षेत्रमा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न एकतर्फी यातायात सञ्चालनसँगै एकतर्फी पार्किङ व्यवस्था गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ ।सर्लाही सदरमुकाम मलंगवाको जिविस चोकदेखि मुख्य बजार क्षेत्र र विभिन्न अन्य चोकहरुमा एकतर्फी यातायात सञ्चालन तथा एक साइड पार्किङको व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक झलक पौडेल शर्माले जानकारी दिए।उनका अनुसार जिल्ला सदरमुकाम समेत रहेको र मुख्य बजार क्षेत्र रहेको भएपनि  अव्यवस्थित पार्किङका कारण हुने सवारी जाम तथा आवागमनमा देखिएको समस्या न्यूनीकरण गर्ने उद्देश्यले उक्त व्यवस्था लागू गरिएको हो ।
नयाँ व्यवस्था अनुसार सवारी चालक तथा व्यवसायीले सडकमा जथाभावी सवारी पार्किङ नगरी तोकिएको स्थानमै पार्किङ गर्नुपर्ने तथा एकतर्फी यातायात र पार्किङ व्यवस्थालाई प्रभावकारी बनाउन चालक,व्यवसायी तथा सर्वसाधारणको सहयोग आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक पौडेलले बताए ।सडकमा जथाभावी पार्किङ गर्दा सवारी आवागमन प्रभावित हुनुका साथै पैदलयात्रीलाई समेत समस्या हुने गरेको व्यापक गुनासो आएपछि मलंगवा क्षेत्रको यातायात व्यवस्थापन ट्राफिक प्रहरीले ध्यान दिएको स्थानीय जानकारहरुले बताए ।
त्यसैले ट्राफिक नियमको पालना गर्दै तोकिएको स्थानमा मात्रै पार्किङ गर्ने र एकतर्फी सडकको नियम अनिवार्य रूपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।व्यवस्थित यातायातका लागि ट्राफिक प्रहरीले मात्रै प्रयास गरेर सम्भव नहुने भएकाले चालक,व्यवसायी र सर्वसाधारण सबैले नियमको पालना र सहयोग गरे मात्रै मलंगवा सहित सर्लाहीको यातायात व्यवस्थापन प्रभावकारी बन्न सक्ने प्रहरी निरीक्षक शर्माले बताए ।
ट्राफिक प्रहरीले सडकको एकतर्फी नियम उल्लंघन नगर्न,सडक तथा फुटपाथ अवरुद्ध हुने गरी सवारी पार्किङ नगर्न र ट्राफिक व्यवस्थापनमा सहयोग गर्न उनले सबैसंग आग्रह समेत गरे । पुर्व पश्चीम महेन्द्र राजमार्ग सहित हुलाकी राजमार्गहरु गरेर ठूला छ वटा सडकहरु र अन्य धेरै भित्री सडकहरु रहेको सर्लाहीमा पुर्व पश्चीम महेन्द्र राजमार्ग मै अन्य मुख्य बजारहरु रहेका छन्।जहाँ जनशक्तिको अभावमा पनि ट्राफिक प्रहरीले अहोरात्र काम गरि रहेको छ ।
यसका साथै नजिकिँदै गरेको चाडपर्वको अवसरमा हुने सवारी चाप लाई मध्यनजर गर्दै यात्रुहरूको सुरक्षा तथा सहज आगमन सहजीकरणको लागि टिकट तथा भाडादार सम्बन्धी गुनासोसँगै यात्राका क्रममा हुने ठगी,दुव्र्यवहार तथा अन्य समस्याहरू समाधानको लागि सर्लाहीका मुख्य मुख्य चार स्थानमा यात्रु सहायता कक्ष समेत स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार पुर्व पश्चीम राजमार्गको लालबन्दी र कर्मैयाका साथै,जिल्ला सदरमुकाम मलंगवा र अर्काे व्यस्त बजार बरहथवामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

सम्बन्धित समाचार