तस्कर र प्रहरीबीच द्वन्द्व बढ्दा एकको मृत्यु,तीन जिल्लामा झडप र गोली प्रहार,

269 Shares

नेपाल भारत सीमाक्षेत्रमा सुरक्षाकर्मी र तस्करबीच विवाद चर्किदै गएको छ।चार सय ६४ किलो मिटरको दुरीमा फैलिएको नेपाल भारत सीमा स्थित मधेस प्रदेशको सीमा क्षेत्रका आठ जिल्लाका विभिन्न ठाउँमा प्रहरीमाथि आक्रमण र झडपका घटना बढी रहेका छन्।नेपाल भार सीमा क्षेत्र स्थित मधेशका विभिन्न ठाउँमा तस्करहरुले प्रहरीमाथि आक्रमण,झडप र गोलीका घटनाहरू दिनप्रतिदिन बढ्दो अवस्थामा भएका छन्।यी घटनाहरुले प्रहरी,स्थानीय व्यक्ति र तस्करहरूबीच द्वन्द्व बढेको देखाएको छ ।
जस अन्र्तगत सर्लाहीको बलरा नगरपालिका जब्दी टोलमा इलाका प्रहरी कार्यालय बलराका प्रहरी नायब निरीक्षक (सई) गौरी शंकर साहसहित तीनजनामाथि अपराधिक समूहले कुटपिट गरेका छन्।बुधबार राति करिब सवा ९ बजे रामनगर गाउँपालिका १ खैर्वाका रोहित कुमार सहनीलाई लुटपाट र कुटपिट गरेको जानकारी पाएपछि घटनास्थल पुगेका सई साहको टोलीमाथि बाटोमै आक्रमण भएको थियो।प्रहरी स्रोतका अनुसार,आक्रमणमा सई साहको बायाँ हातमा गम्भीर चोट लागेको छ भने स्थानीय सहनीका सहकर्मी नवीन चौधरीको टाउकोमा चोट लागेको छ।प्रहरीले आक्रमणकारीहरूको खोजी सुरु गरेको जनाएको छ ।घटनापछि आक्रमणकारीहरू फरार भएका थिए र स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवम प्रहरी निरीक्षक बालिष्टर सिंहले दुई पक्षबीचको झगडाको क्रममा सई साह र अन्य दुई जना सामान्य घाइते भएको जानकारी दिए। लुटपाटको विस्तृत विवरण भने अझै खुलेको छैन।तर सई साह इलाका प्रहरी कार्यालय बलरा जान नेकपा)एमाले)का नेता रधुवीर महासेठको पावर लगाएका थिए।उक्त नाकाबाट  भन्सार छलीको ठूलो कारोबार हुने र ठूलो रकम कमिसन असुलन पाउने भएपनि सई साहले ठूलो पावर लगाएर सो नाकामा गएका प्रहरी अधिकाहरु नै बताउँछन् ।
त्यस्तै,सप्तरीको राजगढ गाउँपालिका २ मा प्रहरीको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका छन्।उनीहरूले न्यायको माग गर्दै सडक अवरुद्ध गरेका छन्।नेपाल–भारत सीमा क्षेत्रमा ठूलो मात्रामा मद्यिरा तस्करी भइरहेको सूचनाका आधारमा सो क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख एवम डिआईजी उमाप्रसाद चतुर्वेदीले बताए ।उनका अनुसार,सोही मद्यिरा तस्करी नियन्त्रण गर्ने क्रममा तस्करहरूको समूहले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले सात राउन्ड गोली चलाएको थियो।
गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।प्रहरीले घटनास्थलबाट ८० कार्टुन अवैध मद्यिरा बरामद गरेको छ भने थप अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
त्यस्तै,धनुषामा पनि भारतबाट अवैध रूपमा भित्र्याइएको किरानाका सामान नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ।बुधबार साँझ करिब सवा ७ बजे धनुषाको विदेह नगरपालिका क्षेत्रमा तस्करीका सामान नियन्त्रणमा लिँदै गर्दा तस्कर समूहले ढुङ्गामुढा प्रहार गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार राउन्ड हवाइ फायर गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति एवम डीआईजी कृष्ण ढकालले जानकारी दिए । उनका अनुसार चार राउण्ड हवाइ फाएर गरिएको भएपनि कुनैपनि मानवीय क्षति नभएको र अहिले अवस्था सामान्य रहेको छ ।
 सशस्त्र प्रहरीले भन्सार छलीका सामानसहित संलग्न व्यक्तिहरूको खोजीलाई तीव्र पारेको छ।
सीमाक्षेत्रमा प्रहरी र तस्करबीच हुने द्वन्द्वले समाजलाई भने त्रसित बनाएको छ।सप्तरीमा भएको घटनाले थप गम्भीर बनाएको छ।तस्करलाई पक्राउ गर्ने क्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु समेत भएको घटनाले थप गम्भीर बनाएको हो।सीमाक्षेत्रमा सुरक्षाकर्मी र अपराधीक समूहबीचको द्वन्द्वका विभिन्न कारणहरु हुन सक्ने जानकारहरु बताउछन् ।
सुरक्षाकर्मीसँग अपराधीहरु त डराउनु पर्ने हो तर,उनीहरुको पछाडि कुनै शक्तिको साथ पनि हुन सक्छ।त्यसैले उनीहरु सुरक्षाकर्मीहरु माथि नै जाईलग्न पछि पर्दैनन्।सुरक्षाकर्मीहरुको आफ्नै व्यवहारले पनि विवाद बढेको हुनसक्ने जानकारहरुको आशंका छ।किनभने पहिले खुला छोडिदिने र कडाई गर्न थालेपछि पनि उनीहरुबीच असझदारी हुने र विवाद बढेको हुनसक्छ ।खुला सीमाका कारणले विभिन्न प्रकारका लागूऔषध प्रयोगकर्ता र ओसार पसार गर्नेहरुपनि हुन्छन्।उनीहरुका कारणले पनि सुरक्षाकर्मीहरुमाथि आक्रमण हुने गरेकोले सुरक्षाकर्मीहरुमा पनि आक्रोश बढ्नु स्वभाविक हुने जानकारहरुको भनाई छ ।
नेपाल–भारत सीमाक्षेत्रमा सर्वसाधरणको पनि आवत जावत बढी हुने गरेको छ।घरायसी सामान भारतीय बजारमा सस्तो पाउने भएकोले उतैबाट किनेर ल्याउने समयमा सुरक्षाकर्मीहरुले तस्करलाई जस्तो व्यवहार गर्ने गर्दापनि सर्वसाधारणमा आक्रोश पैदा हुने गरेको स्थानीय बताउँछन्छ।तर,सुरक्षाकर्मीमाथि नै आक्रमण भने तीनै सर्वसाधरणको आवरणमा तस्करीमा संलग्नहरुले नै गर्ने गर्छन् ।

सम्बन्धित समाचार