निर्वाचनमा निष्पक्ष भएर कलम चलाउन : मुख्य निर्वाचन अधिकृत न्यौपानेकाे आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१९ गते   २८९ पटक हेरिएको

निर्वाचनमा निष्पक्ष भएर कलम चलाइदिन सर्लाहीका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सञ्चारकर्मीहरुसंग  आग्रह गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीले शनिबार आयोजना गरेको ‘निर्वाचनमा सञ्चारमाध्यमको भूमिका’ विषयक अभिमुखिकरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत न्यौपानेले कसैप्रति झुकाव नराखी निष्पक्ष र न्यायापूर्ण ढङ्गले रिपोर्टिङ गर्न जिल्लाका सञ्चारकर्मीसँग आग्रह गरेका हुन् । 
राज्यको चौँथो अङ्गका रुपमा रहेका सञ्चारकर्मीले निष्पक्ष भइ सकारात्मक किसिमले सामाचार प्रकाशन तथा प्रशारण गर्दा समाजमा पनि सकारात्मक सन्देश प्रवाह हुने र त्यसबाट निर्वाचनलाई सफल बनाउन मद्धत पुग्ने उनले बताए ।
उनले मंसिर ४ को निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहिले आफूहरु रातदिन नभनी तयारीका काममा लागिपरिरहेको बताए ।मंसिर ४ को मतदान र त्यसपछि हुने मतगणनाको निष्पक्षताबारे कुनै शंका नगर्न उनले आग्रह गरे ।त्यस्तै  निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न सोही अनुसारको तयारीमा लागिरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले बताए ।
त्यस्तै,सर्लाही  क्षेत्र नं. १ का निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्याय र क्षेत्र नं. ३ का निर्वाचन अधिकृत वशिष्ठकुमार घिमिरेले पनि आ–आफ्नो निर्वाचन क्षेत्रको चुनावी तयारीबारे जानकारी गराए । क्षेत्र नं. ४ का निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले ४ नं. क्षेत्रलाई अर्कै नजरले हेरिए पनि यो पटक आफूहरु क्षेत्रको ८१  वटै मतदानस्थलमा शान्तिपूर्ण किसिमले मतदान गराउन लागिपरेको बताए ।

सर्लाहीमा २० वटा स्थानिय निकायका २ सय वडा छन् भने ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा रहेका छन् । जसमा सर्लाही १ मा ७८ मतदान स्थल र १ सय ५३ वटा मतदान केन्द्रहरु छन् भने सर्लाही २ मा ७७ वटा मतदान स्थल र १ सय ४६ वटा मतदान केन्द्रहरु छन् ।
त्यस्तै सर्लाही ३ मा ६७ वटा मतदान स्थल र १ सय ५५ वटा मतदान केन्द्र र सर्लाही ४ मा ८१ वटा मतदान स्थल र १ सय ४६ वटा मतदान केन्द्र गरि ३ सय १२ मतदान स्थल र ६ सय वटा मतदान केन्द्र रहेको सर्लाहीमा ४ लाख ७९ हजार ३८ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech