Close This

चुनावी प्रचारमा हिँडेको भारतीय स्कारपियोको ठक्करबाट बालिकाको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१९ गते   १०९३ पटक हेरिएको

सर्लाहीको गोडैता नगरपालिका १,बहादुरपुरमा शनिबार साँझ चुनावी प्रचारमा हिँडेको भारतीय नम्बरको स्कारपियोको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । गोडैता नगरपालिका १,बहादुरपुरमा शनिबार साँझ चुनावी प्रचारमा हिँडेको डिएल  ४ सिए ०१९७ नम्बरको भारतीय स्कारपियोको ठक्करबाट स्थानीय हरिन्द्र पासवानकी अन्दाजी २ वर्षिय छोरी सुधाकुमारी पासवानको ज्यान गएको प्रहरीले जनाएको छ ।
चुनावी प्रचारमा हिँडेको डिएल  ४ सिए ०१९७ नम्बरको भारतीय स्कारपियामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश महतो कुशवाहाको ब्यानर लगाइएको स्थानियले बताएका छन् । मृतक बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिए । उनका अनुसार ठक्कर दिने चुनावी प्रचारमा हिँडेको डिएल  ४ सिए ०१९७ नम्बरको भारतीय स्कारपियो र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय मलंगवा लगिएको छ ।
पटक पटक भारतिय सवारी साधनहरुको ठक्करबाट नेपाली नागरिकको ज्यान जाने गरेको भएपनि निर्वाचनको समयमा उम्मेदवारहरुले चुनाव प्रचार प्रसारमा प्रयोग गर्ने भारतिय नम्बरका सवारी साधनहरुबाट नेपाली नागरिकको ज्यान जाने क्रम रोकिएको छैन । निर्वाचन आचारसंहिता अनुसार भारतिय नम्बरका सवारी साधनहरुको प्रयोग गर्न नपाईने भएपनि जिल्लाका सबै राजनैतिक दलका नेताहरुका साथै उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरुले पनि भारतिय नम्बरका सवारी साधनहरुको निर्धक्क प्रयोग गरि रहँदा पनि सरोकारवाला निकाय मौन देखिएको छ । 
यो पनि चुनावी प्रचारमा भारतीय नम्बर प्लेटका सवारी साधनको अत्याधिक प्रयोग
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा सर्लाहीमा भारतीय नम्बर प्लेटका साना सवारीसाधनहरुको अत्याधिक प्रयोग भएको छ ।  प्रदेश तथा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका उम्मेदवारहरूले आफ्नो निर्वाचनको प्रचार प्रसारका लागि  भारतीय नम्बर प्लेटका सवारीसाधनहरुको प्रयोग गरेका हुन । 
नेपाली नम्बर प्लेटका सवारीसाधनहरुको तुलनामा भारतीय नम्बर प्लेटका सवारीसाधनहरु कम भाडामा पाइने भएका कारण चुनावी प्रचार प्रसारमा उम्मेदवारहरुको रोजाइमा भारतीय नम्बर प्लेटका सवारीसाधनहरुको प्रयोग बढेको हो ।  भारतसँग सीमा जोडिएको सर्लाहीका हरेक निर्वाचनमा भारतीय सवारीसाधनहरु कै प्रयोग हुने गरेको छ ।  जिल्लाका अधिकांश स्थानीयले समेत भारतीय नम्बर प्लेटका सवारीसाधनहरु घरमा राख्ने गरेका छन्।
पार्टीको झन्डा हालेर गाडी कुदाउँदा ट्राफिक प्रहरीले चेकिङसमेत नगर्ने र भाडासमेत सस्तो पर्ने भएका कारण आफूले भारतीय नम्बरको गाडी प्रयोगमा ल्याएको उम्मेदवारहरुले नै बताएका छन् ।  सर्लाहीका कुनै पनि उम्मेदवारहरुले निर्वाचन प्रचार प्रसारका लागि  सवारी पास नलिएका र केही सवारी पास तयार पारिएको भए पनि उम्मेदवारहरु लिन नआएका मुख्य निर्वाचन अधिकृत एवम सर्लाही २ का निर्वाचन अधिकृत कविराज न्यौपानेले बताए ।
 साथै पास वितरण गर्दा पनि  भारतीय नम्बर प्लेटका सवारी साधनहरुको पास दिन नमिल्ने र त्यस प्रकारका सवारीसाधनहरु चलाएमा निर्वाचन आचारसंहिता विपरित हुने मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए । साथै उम्मेदवारहरुले प्रचार प्रसारमा भारतिय नम्बरका सवारीसाधनहरु चलाएको विषयमा  हामीलाई पनि केही जानकारी आएको उनले बताए । तर सर्लाहीका सबै उम्मेदवारहरुले १०÷१५ वटाका दरले भारतिय नम्बरका सवारीसाधनहरु   प्रयोग गरेका छन् । तर निरेवाचन आचारसंहिता अनुगमन समिति लगायत सरोकारवाला निकाय मौन देखिएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech