पढ्दै कमाउँदै कार्यक्रमबाट भेटेनरीका विद्यार्थीहरु लाभान्वीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२२ गते   १३७२ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ८ स्थित रहेको श्री नवजन जागरण माविका विद्यार्थीहरु पढ्दै कमाउँदै कार्यक्रमबाट लाभान्वित भएका छन् । २०७४ सालबाट विद्यालयमा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम लागु भई प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद(सिटिइभिटी)बाट ३ वर्षे पशु प्राविधिक(भेटेनरी) कक्षा सुरु भएपछि  नवजन जागरण माविका विद्यार्थीहरु पढ्दै कमाउँदै कार्यक्रमबाट लाभान्वित भएका हुन ।
२०७४ सालबाट विद्यालयमा ३ वर्षे पशु प्राविधिक(भेटेनरी) कार्यक्रम सुरु भएको र सो कार्यक्रम सुरु गर्न रु १० लाख रकम प्राप्त भएपनि करिब रु ६ लाख भौतिक संरचना निर्माणमा खर्च भएको र बाँकी रहेको करिब रु ४ लाख रकमबाट विद्यार्थीहरुलाई पढ्दै कमाउँदै गर्न कुखुरा पालनमा लगानी गरिएको नवजन जागरण माविका प्रधानाध्यापक बद्री पोख्रेलले बताउनु भयो । उहाँका अनुसार विद्यालयले पशु प्राविधिक तर्फका विद्यार्थीहरुका लागि  करिब रु ४ लाखलाई दुई चरणमा गरि कुखुरा पालनमा लगानी गरिएको बताउनु भयो ।


 पहिलो चरणमा एक हजार बोइलर जातका कुखुराका लागि लगानी गरिएकोमा १५ जना विद्यार्थीहरुले पढ्दै कमाउँदै कार्यक्रममा सहभागीता जनाएका थिए । पहिलो चरणमा १५ जना पशु प्राविधिक तर्फका विद्यार्थीहरुले कुखुरा बेचेर संकलन भएको रकमको ४५ प्रतिशत आन्तरीक रुपमा खर्च भएको र सो रकम कटाएर ५५ प्रतिशत मुनाफाबाट आफुहरुले प्रतिव्यक्ति रु ३ हजार ७ सय कमाएको पशु प्राविधिक तर्फको कार्यक्रम पढ्दै कमाउँदैमा सहभागी भएका पुर्ण प्रसाद उप्रेतीले बताउनु भयो । सुरुमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि आएको रु १० लाखबाट भौतिक संरचना निर्माण पछि बाँकी रहेको करिब रु ४ लाख विद्यालयले लगानी गरि दिएको र त्यस वापत आफुहरुले कुखुरा पालेर प्रतिव्यक्ति रु ३ हजार ७ सय कमाएको पशु प्राविधिक तर्फको कार्यक्रम पढ्दै कमाउँदैमा सहभागी भएका अर्का विद्यार्थी पुकार खड्काले बताउनु भयो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि विद्यालयले पशु प्राविधिक तर्फका विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासका लागि आफ्नै जमिनमा कुखुराको खोर बनाएको छ भने गाई,भैसी,बाख्रा,बोका र पाडापाडी समेत पालेको छ । पढ्दै कमाउँदै कार्यक्रममा सहभागी हुन चाहने पशु सेवा प्राविधिक तर्फका विद्यार्थीहरुका लागि विद्यालयले प्लेट फर्मको रुपमा काम गरिदिने र विद्यार्थीहरुका लागि कृषि तथा पशु पालन तर्फ पढ्दै कमाउँदै गर्न चाहने विद्यार्थीहरुका लागि सुरुमा विद्यालयले सहुलियतमा बिना व्याजको ऋण लगानी समेत गरिदिने विद्यालयका प्रधानाध्यापक पोख्रेलले बताउनु भयो ।उहाँका अनुसार पढ्दै कमाउँदै कार्यक्रममा सहभागी हुन चाहने पशु सेवा प्राविधिक तर्फका विद्यार्थीहरुका लागि विद्यालयले सहुलियतमा बिना व्याजको ऋण लगानी गरि दिने र उत्पादन भएको वस्तु विक्रि वितरण भएपछि विद्यालयले लगानी गरिदिएको सहुलियतमा बिना व्याजको ऋण लगानीको साँवा विद्यार्थीहरुले विद्यालयलाई फिर्ता गर्नु पर्नेछ ।


यता,पशु सेवा प्राविधिक तर्फको दोस्रो सेक्सनमा पढ्दै कमाउँदै कार्यक्रममा २ जना विद्यार्थीहरुको सहभागीता रहेको छ । दिपिसा लामा र सलिना मगरले अहिले विद्यालयले बनाएको भौतिक संरचनामा विद्यालयको लगानीमा १ हजार ३ सय कुखुरा पालि पढ्दै कमाउँदै कार्यक्रममा सहभागीता जनाएका छन् । आफुहरु विहानको समयमा पढ्न आउने र  दिउँसो तथा बेलुकाको समयमा पढ्दै कमाउँदै कार्यक्रम अन्र्तगत कुखुरा पालनमा व्यस्त रहेका छन् । पढाई सकेर खाना खाएपछि कुखुरा फर्ममा गएर कुखुराको हेरचाहका साथै कुखुरालाई  दाना पानी दिने र औषधी दिने लगायतका काममा व्यस्त रहने गरेको नवजन जागरण माविमा पशु प्राविधिक दोस्रो शत्रमा अध्यायनरत दिपिसा लामाले बताउनु भयो । 
सिटिईभिटी अन्र्तगत सुरु भएको पशु प्राविधिक(भेटेनरी)तर्फ जम्मा रु १ लाख ७५ हजार लाग्ने गरेको भएपनि पढ्दै कमाउँदै गर्न पाएपछि त्यो रकम खासै ठुलो नलागेको पढ्दै कमाउँदै कार्यक्रममा सहभागी भएकी सलिना मगरले बताउनु भयो ।
प्रधानाध्यापक पोख्रेलका अनुसार पहिलो चरणमा सो कार्यक्रममा सहभागी भएका १५ जना विद्यार्थीहरुले कुल मुनाफाको ५५ प्रतिशतका दरले हुन आउने प्रतिव्यक्ति रु ३ हजार ७ सय कमाएका थिए ।
ती १५ जनाहरु मध्य अधिकांश अहिले व्यावसायिक रुपमा कृषक बनेका छन् । प्राविधिक विषय भएकाले अध्यायनलाई व्यवहारमा उतार्ने निधो गरेका पुर्ण,पुकार,जोनिसा र खुसी लगायतका पशु प्राविधिकहरु विद्यार्थीहरु गाउँ मै प्राविधिक शिक्ष लिन पाउँदा आफुहरुलाई खुसी लागेको बताउछन् । पशु प्राविधिक शिक्षा हाँसिल गरेपछि रोजगारी नपाए स्वरोजगार बन्न सकिने भएका कारण पनि उनिहरुले आफूसँगै अध्यायनरत साथीहरु र पछील्ला शत्रका साथीहरुलाई कृषि कर्ममा लाग्न सुझाव दिएका छन् ।
पढाई र प्राक्टिकल सँगसँगै हुने र पढेका कुरा व्यवहारत लागु गर्न पढ्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी भएको बागमती नगरपालिकाको शिक्षा शाखाको भनाई छ ।  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले विभिन्न तीन प्रकारका कार्यक्रमहरु गर्न विद्यालयहरुलाई सहयोग गर्दै आएको नगर शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले बताउनु भयो । उहाँका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा विद्यालयको भौतिक संरचना,प्राविधिक प्रयोगशाला र पुस्तकालयको क्षेत्र समेटीएको छ ।
विद्यालयले कृषि विषय अध्ययन गर्न आउनेलाई अनिवार्य कृषि कर्ममा लाग्नुपर्ने नीयम बनाएको नगर शिक्षा शाखाको भनाई छ । कृषि व्यवसायका लागि आवश्यक सहुलीयत ऋण पनि विद्यालयको जगेडा कोषबाट उपलब्ध गराउँने गरेको नवजन जागरण माविका प्रधानाध्यापक पोख्रेलले बताउनु भयो ।
“हामी त पढ्नका लागि मात्रै आएका थियौं,स्कुलले सहुलियतमा विना ब्याज ऋण पनि दिने र कमाउँदै पढ्दै गर्नपाइने वातावरण सृजना गरि दियो हामी खुसी छौँ ।”पशुसेवा प्राविधिक विद्यार्थीहरुको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech