मधेश प्रदेशका अधिकांश मतदान स्थल र मतदान केन्द्र अति संवेदनशीलमा वर्गीकरण भएको छ । प्रदेशमा २ हजार १ सय ५६ मतदानस्थल र ४ हजार २ सय ३५ वटा मतदानकेन्द्र निर्धारण गरिएकोमा जसमध्ये अधिकांश मतदानस्थल र मतदान केन्द्र अतिसंवेदनशील रहेका छन्।
सुरक्षा निकायले मधेस प्रदेशका मतदानस्थल र मतदान केन्द्रलाई ३ समूहमा वर्गीकरण गर्दा १ हजार २ सय ३० वटा मतदानस्थल र २ हजार ४ सय ७२ मतदान केन्द्रलाई अतिसंवेदनशीलमा वर्गीकृत गरिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम मधेश प्रदेशले जनाएको छ ।
यस्तै, ७ सय ७९ मतदानस्थल र १ हजार ४ सय ९८ मतदान केन्द्र संवेदनशील, १ सय ४७ मतदानस्थल र २ सय ६५ मतदान केन्द्र सामान्य रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम मधेश प्रदेशका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।
सुरक्षा निकायले विगतको चुनावमा भएको गतिविधि लगायत विभिन्न आधारमा मतदान केन्द्र र मतदान स्थलको वर्गीकरण गरेका हुन्। मधेस प्रदेशका ८ वटै जिल्लाको सीमा भारतसँग जोडिएका कारण समेत यस प्रदेशमा अन्य प्रदेशको तुलनामा सुरक्षा चुनौती थपिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।