उखुको मुल्य प्रतिक्विन्टल १०५० बनाउन किसानहरुको माग,माग पुरा नभए आन्दोलन गर्ने चेतावनी

42 Shares

उखु उत्पादक किसानहरुले चालु क्रसिङ सिजनका लागि उखुको प्रतिक्विन्टल मुल्य रु एक हजार ५० कायम गर्न माग गर्दै सरकार विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।सरकारले प्रस्ताव गरेको उखुको मूल्य अस्वीकार गर्दै उखु उत्पादक किसानहरूले आफुहरुको माग बमोजिमको उखुको मुल्य नपाए चिनी उद्योग सञ्चालन मै रोक लगाउने समेत चेतावनी दिएका छन्।
सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा उखु उत्पादक किसानका प्रतिनिधि र चिनी उद्योगी बीच दुई चरणमा भएको वार्ता निष्कर्ष विहीन बनेपछि उखु उत्पादक किसानहरु सरकारका विरुद्ध सडकमा उत्रने मनसायमा पुगेका हुन।सरकारले उखुको उत्पादन लागत,चिनीको बजार मूल्य र बढ्दो महँगीलाई बेवास्ता गर्दै न्यून मूल्य प्रस्ताव गरेको भन्दै असन्तुष्टी पोख्दै उखु उत्पादक किसान प्रतिनिधिहरू तराई फर्किएका छन्।
सरकारको रोहवरमा भएको पहिलो चरणको वार्तामा सरकारी टोलीले अनुदान बाहेक गत वर्षको तुलनामा प्रतिक्विन्टल रु आठ वृद्धि गरी रु छ सय २८ कायम गर्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव अस्वीकार भएपछि मन्त्रालयले दोस्रो चरणमा चिनीको बजार मूल्य र उखुको उत्पादन लागतबारे अध्ययन गर्ने भन्दै छुट्टाछुट्टै छलफल गरेको उखु उत्पादक किसानहरुका प्रतिनिधिहरुले बताएका छन् ।
दोस्रो चरणको छलफलमा सरकारले उखु उत्पादक किसानहरुलाई दिँदै आएको प्रतिक्विन्टल रु ७० अनुदान बाहेक जेनेरल भेराइटीको उखुको मूल्य रु छ सय ५० र बढी चिनी उत्पादन हुने जातको उखुको मूल्य रु छ सय ७५ प्रस्ताव गरेको थियो तर,उखु उत्पादक किसानहरूले दुवै प्रस्ताव अस्वीकार गर्दै प्रतिक्विन्टल रु एक हजार ५० नै हुनुपर्ने अडान राखेका छन्।
सरकारले उखु उत्पादक किसानहरुका माग सम्बोधन नगरी उद्योगीको स्वार्थ अनुकूल मूल्य निर्धारण गर्न खोजेको उखु उत्पादक किसान महासंघका अध्यक्ष श्यामबाबु रायले बताए।बन्द कोठाभित्र बसेर चिनी उद्योगीको इसारामा उखु उत्पादक किसानहरुलाई मार पर्ने मूल्य निर्धारण गर्न खोजिएको उनको आरोप छ।
सरकारी टोलीले चिनी उद्योगीको इसारामा उखु उत्पादक किसानहरुलाई मार पर्ने मूल्य तय गर्न खोजिरहेको उखु उत्पादक किसानहरुको आरोप छ।उखु उत्पादक किसानहरूले हचुवाका भरमा मूल्य निर्धारण गर्न लागेको भन्दै प्रस्तावित मूल्यप्रति असहमति जनाएका छन्।तर, सरकारले अर्काे मन्त्रिपरिषद् बैठकमा उखुको मूल्य निर्धारणसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरिरहेको बताएको छ।

सम्बन्धित समाचार