Close This

एक हप्ताको निषेधाज्ञा आज सकिदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-३१ गते   ३०६ पटक हेरिएको

सर्लाहीमा साउन २६ गतेदेखि एक साताका लागि जारी गरिएको निषेधाज्ञाको समय आज सकिँदै छ । समुदाय स्तरमै संक्रमण फैलिए पछि स्थिति थप भयावह हुन नदिन भन्दै निषेधाज्ञा जारी गरिएको हो । आज राती १२ बजेपछि निषेधाज्ञाको समय सकिने भएकाले जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको आज दिउँसो १ बजे बैठक बसेर निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने बारेमा निर्णय गरिने भएको छ ।
एक हप्ताको बीचमा जिल्लामा थुपै्र संक्रमित थपिएकाले निषेधाज्ञा पुनः थपिने सम्भावना बढी देखिएको भन्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी  सुरेन्द्र पौडेलले अहिलेसम्म प्राप्त राय सुझावमा निषेधाज्ञा थप्नु पर्ने पक्षधर नै धेरै देखिएको बताउनु भयो । आज दिउँसोको बैठकमा सुरक्षा प्रमुख, राजनीतिज्ञ, स्वास्थ्यविज्ञ सबै बसेर अवस्था मूल्यांकन गरी यसबारेमा निर्णय लिइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
निषेधाज्ञा जारी भएदेखि जिल्लामा कार्यालय, बैंक तथा वित्तीय संस्था, हाटबजार र मानिसको धेरै भीडभाड हुने ठाउँहरु बन्द गरिएका छन् । समुदाय स्तरमा संक्रमणको अवस्था थाहा पाउन जिल्लाका स्थानिय निकायहरुले आ–आफ्नो ठाउँमा परीक्षणको दायरा पनि बढाउँदै लगिरहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech