सर्लाहीको हरिवन नगरपालिका–११ स्थित सुमेरु सामुदायिक अस्पतालको सञ्चालन प्रक्रिया, दर्ता तथा अनुमति र स्थानीय तहको नियमनकारी भूमिकालाई लिएर गम्भीर प्रश्न सृजना भएको छ।अस्पताल विधिसम्मत रूपमा सञ्चालन भइरहेको छ कि छैन भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने बेला हरिवन नगरपालिका भने आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको स्थानीयको आरोप छ।
अस्पताल सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ कि छैन भन्ने विषयमा सर्वसाधारणले स्पष्ट जानकारी पाउन सकेका छैनन्।अस्पताल दर्ता,सञ्चालन अनुमति,सेवा सञ्चालनको स्वीकृति तथा आवश्यक मापदण्ड पूरा भए–नभएको विषय सार्वजनिक हुनुपर्ने स्थानीयको माग छ।तर यस विषयमा आधिकारिक जानकारी उपलब्ध नहुँदा अस्पतालको वैधानिकता माथि नै प्रश्न सृजना भएको छ।
अस्पताल सञ्चालनको आधार के हो ?
नेपालमा स्वास्थ्य संस्था सञ्चालनका लागि सम्बन्धित कानुन तथा मापदण्ड अनुसार दर्ता र अनुमति आवश्यक छ। स्वास्थ्य संस्था सञ्चालन गर्ने व्यक्ति वा संस्थाले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने र अस्पतालको नाममा सेवा सञ्चालन गरिनु मात्रै पर्याप्त नहुने साथै त्यसका लागि आवश्यक स्वीकृति र मापदण्ड पूरा भएको हुनुपर्ने प्रावधानले भनेको छ ।यदि सुमेरु सामुदायिक अस्पतालले आवश्यक दर्ता तथा सञ्चालन अनुमति नलिई सेवा सञ्चालन गरिरहेको हो भने त्यो सामान्य प्रशासनिक त्रुटि मात्रै नभई नागरिकको स्वास्थ्य र सुरक्षासँग जोडिएको गम्भीर विषय हो।
डा. सराफका ठूला कुरा, व्यवहारमा के ?
अस्पतालका सञ्चालक डा.अर्विन सराफका अभिव्यक्ति र अस्पतालको वास्तविक सञ्चालन अवस्थाबीच कति मेल छ भन्ने प्रश्न पनि उठेको छ।स्वास्थ्य सेवा कुनै व्यक्तिको भाषण,प्रभाव वा आश्वासनका आधारमा सञ्चालन हुने विषय होइन।अस्पतालको वैधानिकता,सेवा गुणस्तर र नागरिकको स्वास्थ्य सुरक्षाको सुनिश्चितता महत्वपूर्ण हुन्छ।डा.सराफले अस्पतालको दर्ता,सञ्चालन अनुमति तथा स्वास्थ्य सेवाको मापदण्डबारे स्पष्ट जानकारी दिनुपर्छ।अस्पताल कानुन अनुसार सञ्चालन भइरहेको छ भने त्यसको प्रमाण सार्वजनिक गर्न किन ढिलाइ ? र प्रक्रिया पूरा भएको छैन भने जिम्मेवारी कसले लिने ? यस्ता प्रश्नको जवाफ अस्पताल प्रशासनले दिनैपर्छ।
हरिवन नगरपालिका जिम्मेवारीबाट पन्छिन मिल्छ ?
स्थानीय तहको जिम्मेवारी नागरिकलाई सेवा दिने मात्रै नभई आफ्नो क्षेत्रभित्र सञ्चालन हुने स्वास्थ्य संस्थाको वैधानिकता र मापदण्डबारे आवश्यक अनुगमन गर्नु पनि हो।कुनै स्वास्थ्य संस्थाको सञ्चालन प्रक्रियामा प्रश्न उठेपछि त्यसको छानबिन गर्नु नगरपालिका को दायित्व हो।तर सुमेरु सामुदायिक अस्पतालको विषयमा हरिवन नगरपालिकाले के अनुगमन गरेको छ?अस्पतालको दर्ता तथा सञ्चालन अनुमति सम्बन्धी अभिलेख कहाँ छ ? कुनै कमजोरी भेटिएको भए के कारबाही भयो ? यी प्रश्नको स्पष्ट जवाफ आवश्यक छ।नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा बहानाबाजी गरेर जिम्मेवारीबाट उम्किने छुट कसैलाई छैन।अस्पताल प्रशासन र नगरपालिका दुवैले तथ्यसहित जवाफ दिनुपर्छ।
यस सवालमा हरिवन नगरपालिका का स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले उत्त अस्पतालको सवालमा नगरपालिका मा निवेदन दर्ता भएका र आफु बाहिर भएकाले आवश्यक प्रक्रियामा जान नपाएको बताएका छन्।उनले अस्ति अनुगमन गरिएको र अहिले जे को अनुमति लिएको हो सोहिको बोर्ड राख्नु र थप सेवा सन्चालन गर्न अनुमति लिएर मात्रै सेवा सन्चालन गर्नु भनेर सामाजिक विकास समितिका संयोजक एवम हरिवन नगरपालिका –८ का वडाअध्यक्ष प्रज्वल ढुँगानाको नेतृत्वमा गरिएको अनुगमनको समयमा निर्देशन गरिएको समेत बताए । उनले म बाहिर छु म फर्किउपछि फाईल हेरेर नगर उप–प्रमुखको नेतृत्वमा अनुगमन गर्नेछौं । बताए।
नागरिकको स्वास्थ्यमा खेलवाड स्वीकार्य हुँदैन,अस्पताल सञ्चालनको वैधानिकता र सेवाको गुणस्तरबारे उठेका प्रश्नको निष्पक्ष छानबिन हुनुपर्न र सम्बन्धित स्वास्थ्य निकायले अस्पतालको दर्ता,अनुमति,जनशक्ति र सेवा सञ्चालनको अवस्था बारे अनुगमन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने स्थानीय जानकारहरुले माग गरेका छन् ।यदि अस्पतालले आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ भने प्रमाण सार्वजनिक गरेर उठेका प्रश्नको जवाफ दिनुपर्ने उनीहरुको भनाई छ ।
यता,अस्पतालका सञ्चालक डा. सराफले मंसिर ९ गते कम्पनी रजिष्टारको कार्यालयमा अस्पताल दर्ता गरिएको बताएका छन्।तर उत्त अस्पताल कै नामको सुमेरु सामुदायिक अस्पताल धापाखेल २०६६/०६७ तिरै दर्ता भएको र हाल सोही नामको अर्काे अस्पताल कसरी दर्ता भयो ?भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा कम्पनी रजिष्टारका एक अधिकृतले एउटै नामको एक भन्दा बढी कम्पनी दर्ता नहुने समे तबाए।तर यो अस्पताल कसरी दर्ता भयो भन्ने सवालमा उनको समेत जवाफ छैन् ।
अब,हरिवन नगरपालिका–११ को सुमेरु सामुदायिक अस्पतालको विषय सामान्य आरोप–प्रत्यारोपमा सीमित नभई सत्तहमा देखिएको विषय भएकाले सरोकारवाला निकायले यसको सपष्ट जवाफ दिनु पर्ने स्थानीय जानकारहरु बताउँछन् ।नागरिकको स्वास्थ्य र सुरक्षासँग जोडिएको यो सवालमा हरिवन नगरपालिका, अस्पताल प्रशासन र सम्बन्धित स्वास्थ्य निकायको जवाफदेहिता सुनिश्चित हुनुपर्ने उनीहरुको भनाई छ ।
निजी स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनका मुख्य मापदण्ड

नेपालमा निजी अस्पताल, क्लिनिक,पोलिक्लिनिक तथा अन्य स्वास्थ्य संस्था सञ्चालन गर्दा जनस्वास्थ्य सेवा ऐन, २०७५,जनस्वास्थ्य सेवा नियमावली,२०७७ तथा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७(पहिलो संशोधन, २०७८) अनुसार आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ।
दर्ता तथा अनुमति दिने निकायजनस्वास्थ्य सेवा नियमावली, २०७७ को अनुसूची–९ अनुसार स्वास्थ्य संस्थाको प्रकार, शैया संख्या र सेवाको प्रकृतिका आधारमा अनुमति दिने निकाय फरक हुन्छ।
–१५ शैयासम्मका अस्पताल तथा क्लिनिकजस्ता संस्थालाई स्थानीय तहले अनुमति दिन सक्ने व्यवस्था छ।
–२५ देखि २०० शैया सम्मका जनरल तथा विशेषज्ञ अस्पताल र पोलिक्लिनिकलाई प्रदेश सरकारले अनुमति दिन्छ।
–२०० शैया भन्दा माथिका जनरल अस्पताल तथा “ए” र “बी”वर्गका प्रयोगशालाका लागि संघीय मन्त्रालयको अनुमति आवश्यक हुन्छ।
यी सबै निकायले दिएको इजाजत पत्रको मान्य अवधि पाँच वर्षको हुन्छ र म्याद सकिनुभन्दा कम्तीमा तीन महिनाअघि नवीकरणका लागि निवेदन दिनुपर्ने प्रावधानमा उल्लेख गरिएको छ ।
तसर्थ,हरिवन नगरपालिका(११ को सुमेरु सामुदायिक अस्पताल नाममा सञ्चालित भए पनि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने दायित्वबाट मुक्त हुँदैन। अस्पतालको वास्तविक दर्ता अवस्था, सञ्चालन अनुमति,स्वीकृत शैया संख्या,चिकित्सक तथा स्वास्थ्य कर्मीको विवरण र स्वीकृत सेवा क्षेत्र सम्बन्धित निकायबाट प्रमाणित गर्नुपर्छ।
त्यसैगरी,काठमाण्डौमा विगत करिब २० वर्ष देखि संचालन भइरहेको सय शैयाको आधुनिक सुबिधा सम्पन्न ख्याति प्राप्त सुमेरु अस्पतालको नाम नक्कल गरेर सर्लाहीको हरिवन नगरपालिका–११ मा सुमेरु सामुदायिक अस्पताल नाम राखेर संचालन भएको पाइएको र उत्त अस्पताल र काठमाण्डौं स्थित सञ्चालित सुमेरु अस्पतालको कुनै साईनो सम्बन्ध समेत नरहेको काठमाण्डौँ स्थित सुमेरु अस्पतालका अध्यक्षले बताए ।
साथै एउटै नाम राखेर वा सोही नाम राखेर उस्तै नामको कम्पनी नै दर्ता नहुने प्रावधान हुदाहुदैं पनि यो नाममा कसरी उत्त अस्पताल दर्ता भयो यो आफैमा अनुसन्धानको विषय रहेको कम्पनी रजिष्ट्रारको कार्यलयका एक अधिकृतले बताए ।