शंखर पहाडी(गौरब)
सर्लाहीका किसानहरुलाई रासायनिक मल वितरण सुरु भएकोे छ । कृषि सामाग्री कम्पनी लिमिटेड शाखा सर्लाहीले जिल्लाका किसानहरुका लागि डिलरहरु मार्फत रासायनिक मल वितरण सुरु गरेको हो ।
२० वटा स्थानीय तह रहेको जिल्लाका दुई सय वटा वडाहरुबाट प्रति वडा एउटा सहकारीलाई डिलर बनाएर स्थानीय तहको सिफारिसमा कार्यालयले युरिया,डिएपी र पोटाँस वितरण सुरु गरेको कृषि सामाग्री कम्पनी लिमिटेड शाखा सर्लाहीका कार्यालय प्रमुख दिपक थापा मगरले जानकारी दिए । उनका अनुसार २० वटा स्थानीय तह रहेको जिल्लाका दुई सय वटा वडाहरुबाट एक÷एक वटा सहकारीलाई स्थानीय तहको सिरफारिसमा डिलर बनाईएको र सोही डिलर मार्फत युरिया,डिएपी र पोटाँस वितरण सुरु गरिएको हो ।
जिल्लाको लालबन्दीमा १७,हरिवनमा ११,बागमतीमा १२,इश्वरपुरमा १५,बरहथवामा १८,मलंगवामा १२,हरिपुरमा नौ,हरिपुर्वामा नौ,बलरामा ११,गोडैतामा १२,कविलासीमा १०,चक्रघट्टामा नौ,चन्द्रनगरमा सात,धनकौलमा सात,ब्रम्हपुरीमा सात,रामनगरमा सात,विष्णुमा आठ,कौडेनामा सात,पर्सामा छ र बसबरिया गाउपालिकामा छ गरी जिल्ला भर दुई सय वटा डिलरहरु रहेका कार्यालय प्रमुख मगरले जानकारी दिए ।
उनका अनुसार जिल्लामा आएको २० हजार चार सय बोरा रासायनिक मल जिल्लाका दुई सय वटै डिलरहरुलाई दामासाही रुपमा वितरण सुरु गरिएको छ । जसमा हरेक डिलरलाई ९५ बोरा युरिया,पाँच बोरा डिएपी र दुई बोरा पोटाँस गरी दुई सय वटा डिलरलाई २० हजार चार सय बोरा रासायनिक मल वितरण गरिने कार्यालयले जनाएको छ ।
जिल्लामा अहिले गँहु,मकै,मुसुरो,तरकारीका साथै उखुको सिजन रहेको र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बैठक बसेर सबै डिलरहरुलाई दामासाही रुपमा मल वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
राज्यले युरिया प्रति बोरा रु आठ सय २१,डिएपी प्रति बोरा रु दुई हजार दुई सय ७१ र पोटाँस प्रति बोरा रु एक हजार छ सय ७१ मा डिलरलाई दिने र स्थानीय तहले निर्धारण गरेको भाडा दररेट अनुसार डिलरहरुले जिल्लाका किसानहरुलाई मल बिक्रि गर्ने कार्यालयले जनाएको छ ।
साथै कार्यालयले मल बिक्रि वितरणमा पार्दशिता ल्याउन डिलरहरुले किसानहरुलाई बिक्रि वितरण गरेको मलको तथ्यांक,खाता र प्रतिवेदन प्रमाणित गर्न पनि अनुरोध गरेको छ । मल बिक्रि वितरणमा केही समस्या वा गुनासो आएमा अनुगमन समितिले अनुगमन गर्दा डिलरहरुले किसानलाई बिक्रि वितरण गरेको मलको बिल,खाता नम्बर र प्रतिवेदन प्रमाणित गर्न राख्न पनि अनुरोध गरेको छ ।
जिल्लाका किसानहरुबाट आफुहरुले बाली लगाउने र मल हाल्ने समयमा मल नपाएको गुनासो व्यापक आउन थालेपछि विभागसंग मल तुलनात्मक रुपमा बढि नै माग गरेको र माग अनुसारको मल समेत प्राप्त भएको अब जिल्लाका किसानहरुलाई यो सिजनमा मल नपाउने समस्या हट्ने कार्यालयले विश्वास गरेको छ ।