Close This

जनप्रतिनिधिहरु कमिसनको खेलमा,निर्माण कार्य ओझेलमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-१६ गते   ३६८ पटक हेरिएको

विगत ४ वर्ष देखि अलपत्र अवस्थामा रहेको पाँच कुमारी खोलाको पक्की पुल,

सर्लाहीको र लालबनदी जोड्ने पाँचकुमारी खोलाको पुल विगत ४ वर्षदेखि अलपत्र अवस्थामा छ । आर्थिक वर्ष २०७४/०७५ बाट निर्माण सुरु भएको सो पुल निर्माण सुरु भएको ४ वर्ष वितिसक्न लाग्दा पनि निर्माण कार्य अलपत्र अवस्थामा परेको हो ।
हरिपुर नगरपालिका ८ र लालबन्दी नगरपालिका ४ को सिमानामा रहेको पाँचकुमारी खोलामा २ वटा पिलर भएको पक्की पुल निर्माण सुरु गरिएको ४ वर्ष सम्म पनि जनप्रतिनिधिहरुको लार्पबाहीका कारण निर्माण सम्पन्न हुन नसकेको स्थानियले बताएका छन् । हरिपुर नगरपालिकाको रु २५ लाख र लालबन्दी नगरपालकाको रु १० लाख गरि ३५ लाखको लागतमा निर्माण सम्पन्न गर्नै गरि सुरु भएको पुलको हाल सम्म निर्माण उपभोक्ता समिति मार्फत नै काम भएको र विभिन्न चरणमा गरि रु २५ लाख रकम सकिसकेको पुल निर्माण उपभोक्ता समितिले जनाएको छ । 
आर्थिक वर्ष २०७४/०७५ मा नगरले रु ५ लाख,आ.व २०७५/०७६ मा नगरले रु १० लाख,लालबन्दी नगरपालिकाले रु १० लाख रकमको व्यावस्था गरेको थियो । आ.व २०७७/०७८ मा पनि हरिपुर नगरपालिकाले रु १० लाख रकमको व्यावस्था गरि दिएको छ । लालबन्दी तर्फको क्षेत्रमा भने पुल निर्माण गरि माटो भरेर तयारी पारिएको भएपनि हरिपुर तर्फको क्षेत्रमा सो कार्य नगरिएको पाइएको हो । पुलको माथिल्लो भौतिक संरचना निर्माण भै सकेको भएपनि मानिसहरु अहिले पनि  खोलाबाटै आवत जावत गर्न बाध्य भएका छन् । पुनको माथिल्लोभागमा रेलिङ समेत निर्माण भै सकेको छ तर पुलमा चढ्ने ठाउँ नै छैन कसरी पुलमा चढ्ने, पुल निर्माण कार्य सुस्त हुँदा आफुहरु खोलाबाटै आवत जावत गरि रहेको हरिपुर नगरपालिका ८ इन्द्रपुरकी ओम माया श्रेष्ठले बताउनु भयो ।
हरिपुर तर्फको क्षेत्रमा माटो भर्ने,ढुंगाजाली लगाउने काम बाँकी नै रहेको छ । भने त्यसतर्फ नगर प्रमुखको ध्यान नपुगेको हरिपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरि बहादुर थापाले बताउनु भयो ।  आफुहरुले पटक पटक नगर प्रमुख जमरुदिन मन्सुरको ध्यानाकर्षण गराउँदा पनि कमिसन बाहेकका क्षेत्रमा उहाँको ध्यान पुगेको छैन । वडा अध्यक्ष थापाले बताउनु भयो । 
उपभोक्ता समिति मार्फत निर्माण सुरु गरिएको पुलको हाल सम्म तीनवटा निर्माण उपभोक्ता समिति गठन गरि सकिएको वडा अध्यक्ष थापाले जानकारी दिनु भयो । वडा अध्यक्ष थापाका अनुसार हरिपुर नगरपालिकाका नगर प्रमुख मन्सुरले कमिसनको खेलमा लागेर पुल निर्माण कार्यमा रकमको उचित व्यावस्था नगरि दिँदा निर्धारीत समयमा पुल निर्माण हुन नसकेको हो ।
भिम बहादुर वि.क निर्माण उपभोक्ता समितिका अध्यक्ष हुँदा रु ५ लाख,पद्धम नेपाली निर्माण उपभोक्ता समितिका अध्यक्ष हुँदा रु २० लाख र रजाक धोवी निर्माण उपभोक्ता समितिका अध्यक्ष हुँदा रु १० लाख रकमको व्यावस्था भएको थियो । त्यस मध्ये आ.व २०७७/०७८ मा नगरले दिएको रु १० लाखको रजाक धोवी निर्माण उपभोक्ता समितिका अध्यक्ष हुन । सो कार्य सुरु हुन बाँकी रहेको छ ।
वडा अध्यक्ष थापाका अनुसार ठेक्का मार्फत निर्माणन कार्य गर्न दिँदा चाँडै काम सकिने र कमिसन कम पाउने भएका कारण नगर प्रमुख मन्सुरले  सानो सानो रकम बनाएर निर्माण उपभोक्ता समिति मार्फत काम लगाएका र त्यसो गर्दा लामो समय लाग्ने भएका कारण आफुले बढी कमिसन पाउने उहाँको अपेक्षा रहेको वडा अध्यक्ष थापाले आरोप लगाउनु भयो ।नगर प्रमुख मन्सुरले केही जनप्रतिनिधिहरुका साथै केही आफ्ना आसेपासेहरुको प्रयोग गरेर कमिसन असुल्ने गरेको केही वडा अध्यक्षहरुको आरोप छ ।
यता, नगर प्रमुख मन्सुरले आफुले कमिसन नलिएको र लिने प्रयास पनि नगर्ने बताउनु भयो । साथै नगरमा कर्माचारी व्यावस्थापन देखि लिएर नगरपालिकाको कार्यलयगत भौतीक संरचनाको निर्माण पुननिर्माण गर्दा गर्दै केही विकास निर्माणका काममा ध्यान कम पुगेको हुन सक्ने बताउनु भयो । साथै उहाँले अब चाँडै सो पुलको निर्माण कार्य सम्पन्न हुने बताउनु भयो ।
नगर प्रमुख मन्सुरले निर्माण उपभोक्ता समिति मार्फत काम गर्दा गुणस्तरिय काम हुने भएका कारण आफुले निर्माण उपभोक्ता समिति मार्फत काम गर्न लगाएको बताउनु भयो । उहाँका अनुसार पुल निर्माणको काम करिब ७० प्रतिशत सकिएको र अबको केही महिना भित्रमा पुरै काम सम्पन्न हुने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech