Close This

सर्लाही क्षेत्र नम्बर ३ मा साहको जित पक्का

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-१ गते   ९९४ पटक हेरिएको

सर्लाही क्षेत्र नम्बर ३ मा सत्ता पक्षीय गठबन्धन तर्फका उम्मेदवार जितको नजिक पुगेका छन् । पाँच दलिय गठबन्धन र तीन दलिय गठबन्धनविच कडा प्रतिस्पर्धाद भनिएको सर्लाही ३ मा कुनै प्रकारको प्रतिस्पर्धा नरहेका माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
सत्तापक्षीय गठबन्धन दलबाट नेकपा(माओवादी केन्द्र)का उम्मेद्वार नरेन्द्र साह र विपक्षी गठबन्धनबाट नेकपा(एमाले)का उम्मेद्वार हरि उप्रेती चुनावी मैदानमा रहेका भएपनि सर्लाही ३ का जनता अहिले पाँच दलिय गठबन्धनको पक्षमा मतदान गर्न उत्साहीत भएका कारण साह रउप्रेती वीच कुनै प्रकारको प्रतिस्पर्धा नभई पाँच दलिय गठबन्धनका उम्मेद्वार साहले चुनाव जित्ने पक्का भएको माओवादी केन्द्रका नेताहरुको भनाई छ ।
सत्तापक्षीय गठबन्धन दलका उम्मेदवार साह र विपक्षी दलका उम्मेदवार उप्रेती दुवै संविधान सभाका पूर्वसदस्य हुन । सत्ता गठबन्धन दलका उम्मेदवार साह २०७० को दोस्रो संविधान सभा चुनावमा तराई–मधेस सद्भावाना पार्टी (तमसपा) को समानुपातिकतर्फका संविधान सभा सदस्य थिए भने उप्रेती एमाले सर्लाही ३ नम्बर क्षेत्रबाट प्रत्यक्ष निर्वाचित संविधान सभा सदस्य हुन ।
साह २०७० सालको दोस्रो संविधान सभाबाट खुलेर राजनीतिमा लागेका हुनभने  उप्रेती २०६४ को पहिलो संविधान सभा चुनावमा यसै क्षेत्रबाट एमालेबाट चुनाव लडेका थिए । त्यस चुनावमा पराजित भएका उप्रेती दोस्रो संविधान सभा सदस्य निर्वाचन २०७० मा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएकाथिए । उप्रेतीले २०७४ को प्रतिनिधि सभा सदस्य चुनावमा भने टिकट पाएनन् । दुई दल माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल भएपछि यस क्षेत्रबाट माओवादी केन्द्रका रामेश्वर रायले टिकट पाएका थिए । दोस्रो संविधान सभाको निर्वाचनमा तमसपाबाट समानुपातिक संसद् बनेका साह २०७४ को प्रतिनिधि सभा सदस्य चुनावमा यसै क्षेत्रबाट स्वतन्त्रबाट उम्मेदवार बनेका थिए ।
“गएको वैशाखमा भएको पालिका चुनावमा स्थानीय उम्मेदवारले पाएको मतलाई प्रतिनिधि सभा सदस्य चुनावमा आधार मान्दा पाँच दलिय गठबन्धनका उममेद्वार साहले जित्नेपक्का छ । ” एक नेताले बताए ।
सर्लाही क्षेत्र नम्बर ३ मा १ लाख २७ हजार ३४ जना मतदाता रहेका छन् । अङ्कगणितीय हिसाबले ५१ वडा रहेको क्षेत्र नम्बर ३ मा गएको स्थानिय निकायको निर्वाचनमा नेपाली कांग्रेसले १३,माओवादी केन्द्रले १४,एमालेले ११,जनता समाजवादी पार्टी(जसपा)ले १०, नेकपा(एकीकृत समाजवादी)पार्टीले २ र बहुजन एकता पार्टीले १ वडा जितेको छ । यसलाई आधार मान्दा सत्तापक्षीय गठबन्धन दलको उम्मेदवार साहको पक्षमा २९ वटा वडा देखिन्छ । त्यसैगरी विपक्षी दलका उम्मेदवार उप्रेतीको पक्षमा २१ वटा वडा देखिन्छ । बहुजन एकता पार्टी एक्लै चुनावी मैदानमा छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech