सर्लाही १(ख)बाट लुङ्गेली दोस्रो पटक पनि विजयी

1.3k Shares

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा(ख)मा पाँच दलिय गठबन्धनकी साझा उम्मेदवार नेकपा(एकीकृत समाजवादी) पार्टीकी नेतृ बेची लुङ्गेली विजयी हुनु भएको छ । ४ वटा प्रतिनिधि सभा सदस्य र ८ वटा प्रदेश सभा सदस्य रहेको जिल्लामा प्रदेश तथा प्रतिनिधि सभा सदस्य तर्फ पहिलो विजयी हुने उम्मेदवार लुङ्गेली रहनु भएको छ ।
लालबन्दी नगरपालिकाका १७ वटै,इश्वरपुर नगरपालिकाको वडा नम्बर १२,हरिपुर नगरपालिकाको २,४,६,७,८,९ गरी ६ वटा वडा र कविलासी नगरपालिकाको वडा नम्बर १ र २ गरी २६ वडा रहेको जिल्लाको क्षेत्र नम्बर १ प्रदेश सभा(ख)मा ४२  वटा मतदान स्थल र ८२ वटा मतदान केन्द्र रहेका छन् ।
३३ हजार ७३ पुरुष,३० हजार ९ सय ६५ महिला र १ अन्य गरि कुल ६४ हजार ३९ जना मतदाता रहेको जिल्लाको १(ख)मा ३८ हजार २ सय ७२ मत खसेको थियो । जसमा लुङ्गेलीले १३ हजार ६ सय ७७ मत प्राप्त गरी निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।
लुंगेलीले एकीकृत समाजवादी पार्टीको तर्फबाट प्रदेश सभातर्फ मुलुकमै पहिलो खाता खोल्नु भएको मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले जानकारी दिनु भयो । उहाँका अनुसार लुङ्गेलीकी निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)की शान्ति लामाले ६ हजार ९ सय ७८ मत मात्रै प्राप्त गर्नु भएको छ ।  भने जिल्लाको निर्वाचन क्षेत्र नम्बर १को(ख)मा स्वतन्त्र तर्फका उम्मेदवार राजन कुमार श्रेष्ठले ५ हजार ९ सय ४५ मत ल्याउँनु भएको छ । 
यता,सोही प्रदेश सभामा नेकपा(एमाले)कोतर्फबाट २०७४ सालमा निर्वाचित रहनु भएकी लुङ्गेलीसँगै एमालेबाट लालबन्दी नगरपालिकाकी निवर्तमान नगर उप प्रमुख लामा र लालबन्दी नगरपालिका ८ का निवर्तमान वडाध्यक्ष श्रेष्ठ सहित ११ जना उम्मेदवारहरु चुनावी  मैदानमा उत्रिएका थिए ।

सम्बन्धित समाचार