सर्लाहीको मलंगवा नगरपालिका ६, मुसैलीका स्थानीयले हुलाकी सडक निर्माणको माग गर्दै आज (बुधबार) चक्काजाम गरेका छन् ।
पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत जिल्लाकाे मलंगवा नगरपालिका ६ स्थित हुलाकी सडक निर्माण कार्य अलपत्र छाडिएदा धुलोले हैरान भएको भन्दै स्थानीयले सडकमा टायर बालेर चक्काजाम गरेका मलंगवा नगरपालिकाले जनाएको छ ।
स्थानीयले पटक–पटक आवश्वास पाउँदा पनि हुलाकी सडक कालोपत्रे नभएकाले बाध्य भएर चक्काजाममा उत्रनु परेको स्थानियले बताए ।
स्थानियले अवरुद्ध गरेपछि हुलाकी सडकमा सार्वजनिक सवारीसाधन चल्न सकेका छैनन् । केही दिनअघि कौडेना बजारका स्थानीय यसैगरी चक्काजाम गरेका थिए ।
स्थानीयको प्रदर्शनपछि त्यहाँ सडक कालोपत्रेको थोरै काम भएको छ । वर्षौदेखि जरजर अवस्थामा रहेको हुलाकी सडकमा अहिले कुहिरी मण्डल भएर धूलो उड्दा स्थानीय प्रभावित भइरहेका छन् ।
आन्दाेलित स्थानीयले निर्माण स्थलमा निर्माण कम्पनीका ठेकेदार प्रतिनिधि नआउँदा सम्म आफुहरुकाे आन्दाेलन जारी रहने बताएका छन् ।