सिन्धुली अस्पतालको शल्यक्रिया सेवा पुनःसञ्चालनमा आएको छ।एनेस्थेसिया चिकित्सकको अभावका कारण केही समयदेखि प्रभावित बनेको उक्त सेवा पुनःनियमित रूपमा सञ्चालनमा आएपछि बिरामीहरूलाई ठूलो राहत मिलेको अस्पतालका प्रमुख शुसान्त कुमार खड्काले जानकारी दिए ।
उनका अनुसार भरतपुर अस्पतालमा कार्यरत एनेस्थेसिया विशेषज्ञ डा.कुशल रञ्जित सिन्धुली अस्पतालमा काज सरुवा भई आएसंगै शल्यक्रिया सेवा पुनः सुचारू गरिएको हो।चिकित्सकको सरुवाका कारण विगत केही दिनदेखि आकस्मिक तथा नियमित शल्यक्रिया सेवा पूर्ण रूपमा प्रभावित भएको थियो।शल्यक्रिया सेवा प्रभावित हुँदा उपचारका लागि आएका धेरै बिरामीहरूलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता सिर्जना भएको थियो ।विशेष गरी आकस्मिक अवस्थामा शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूले समयमै सेवा नपाउँदा थप समस्या भोग्नुपरेको स्थानीयले गुनासो गरेका छन्।
हाल एनेस्थेसिया चिकित्सकको व्यवस्थापन भएसँगै अस्पतालले पुनःनियमित रूपमा शल्यक्रिया सेवा प्रदान गर्न थालेको हो।अस्पताल प्रशासनका अनुसार अब आपतकालीन तथा सामान्य दुवै प्रकारका शल्यक्रियाहरू व्यवस्थित रूपमा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ । यसले जिल्लाका बिरामीहरूलाई बाहिर जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा जनशक्ति अभावले सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने भएकाले दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने स्थानीय सरोकारवालाहरूको धारणा छ । जिल्लामा विशेषज्ञ चिकित्सकको स्थायी व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।शल्यक्रिया सेवा पुनः सञ्चालनमा आएसँगै सिन्धुली अस्पतालले पुनःआफ्नो नियमित सेवाको गति समातेको छ।यसबाट जिल्लावासीले सहज र समयमै उपचार सेवा पाउने विश्वास गरिएको छ ।